लापामा सत्ता गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १९, २०७९

धादिङ । उत्तरी धादिङको लापालाई माओवादी जनयुद्धको आधारभुमीका रुपमा पनि चिनिन्छ । जनयुद्धको समयमा माओवादीले विभिन्न सैन्य प्रशिक्षण तालिम पनि लापामै गर्ने गरेको र स्थानीयहरुको सहयोग पाएकैले यस क्षेत्र माओवादीको आधारभुमीका रुपमा राज्यले पनि हेर्ने गरेको विभिन्न घटनाले पुष्टि गर्दछ ।

लापाका स्थानीयबासीले स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धनका उम्मेदवारहरुलाई यसैगरी सगुनको साथमा भव्य स्वागत गरेका थिए भने मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावका लागि उम्मेदवार बनेका सत्ता गठबन्धनका नेताहरु भोट माग्न लापा पुग्दा स्थानीय तहका उम्मेदवारहरुलाई जस्तै सगुन सहित भव्य स्वागत गरेका हुन् ।

धादिङ १ का सत्ता गठबन्धनका साझा उम्मेदवार रामनाथ अधिकारी र धादिङ २ को प्रदेश २ का उम्मेदवार जगत सिंखडा भोट माग्नेक्रममा यतिबेला उत्तरी धादिङमा छन् । माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी (विजय) ले आफूपनि अभियान मै रहेको र उत्तरी धादिङका जनताहरु जसी स्थानीय तहमा एकतावद्ध भएर गठबन्धनलाई भोट हाले यो मंसिर ४ को चुनावमा पनि त्यो भन्दा धेरै भोट गठबन्धनलाई पठाउने उत्साहमा रहेको आफुले पाएको बताए ।