राजेन्द्र पाण्डे र शालिकराम जमकट्टेल बारे संक्षिप्त जानकारी

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १९, २०७९

धादिङ । राजेन्द्र पाण्डे यतिबेला धादिङ को संघीय सांसदको लागि चुनावी मैदानमा छन् भने शालिकराम जमकट्टेल धादिङ को प्रदेश सभा २ को सांसदको लागि चुनावी मैदानमा छन् यी दुबै जना सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

यी दुईको संक्षिप्त परिचय
राजेन्द्र पाण्डे, उम्मेदवार
प्रतिनिधी सभा क्षेत्र नं. १ धादिङ

त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा एम.ए. सम्मको अध्ययन गरेका राजेन्द्र पाण्डे सक्रिय राजनीतिमा आउनुअघि (२०३४–२०४२) शिक्षण पेसामा आबद्ध थिए । उनले २०३३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए । त्यसपछि २०३४ देखि नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक सहित २ कार्यकाल धादिङ जिल्ला अध्यक्ष भएर काम गरे । २०३६ सालबाट ८ वर्षसम्म उनी पार्टीको जिल्ला सचिव भए । पाण्डे २०५० देखि ०५६ सालसम्म नेकपा एमाले बाग्मती अञ्चल कमिटी सचिव र २०५५ सालमा पार्टी केन्द्रीय सदस्य बने भने २०६५ सालदेखि पोलिटब्युरो सदस्य बने हाल उनी एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष छन् । पाण्डे साविकको धादिङ क्षेत्र नम्बर ३ बाट २०४८, ०५१ र ०५६ मा विजयी भएका थिए । २०६५ साल जेठ ८ देखि चैत १५ गतेसम्म स्थानीय विकास मन्त्री बनेका पाण्डे २०६४ को पराजयको बदला शालिकराम जमकट्टेललाई २०७० तिरेका थिए । ०७४ सालमा भने पाण्डे वाम गठबन्धनबाट चुनाव धादिङ १ को (२) मा लड्दै नेपाली काँग्रेसका उम्मेदवार मधुकुमार श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका गरेका थिए । उक्त निर्वाचनमा पाण्डेले २७ हजार ३३२ प्राप्त मत गर्दा उनको प्रतिद्वन्दी नेपाली काँग्रेस मधुकुमार श्रेष्ठ १३ हजार ६४७ मत ल्याएका थिए । यो पटक सत्ता गठबन्धनको तर्फबाट उनी धादिङ १ को संघीय सांसदका लागि उनी चुनावी मैदानमा छन् ।

शालिकराम जमकट्टेल, उम्मेदवार
प्रतिनिधी सभा क्षेत्र नं. १ को प्रदेश सभा २ धादिङ

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला अध्यक्ष हुन् । बि.ए., बि.एल.सम्मको अध्ययन गरेका जम्कट्टेलले २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका थिए । २०४८ औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष सम्म बने । माओवादी जनयुद्ध सुरु भएपछि उनी त्यसमा निरन्तर क्रियाशील रहे । २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेका जमकट्टेल २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गरेका थिए यद्यपि त्यसको पैचो पाण्डेले २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा लिएका थिए । ०७४ मा भने जम्कट्टेलले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका प्रभात किरण सुवेदीलाई पराजित गरे । उक्त निर्वाचनमा माओवादी केन्द्र शालिकराम जमकट्टेले २३ हजार ३८२ मत ल्याई प्रदेश सांसदमा विजयी हुँदा उनको प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रभात किरण सुवेदीले १० हजार ४०७ मत ल्याएका थिए । यो निर्वाचनमा जमकट्टेल सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा फेरी धादिङ २ को प्रदेश २ मा उम्मेदवार छन् ।