उम्मेदवार जगत सिंखडाको के छ चुनावी माहौल

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १५, २०७९

धादिङ । धादिङ प्रतिनिधी सभा क्षेत्र नं. २ को प्रदेश सभा २ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नेता जगत सिंखडा पुरानै प्रतिद्वन्दी राप्रपाका डम्बर तामाङ सँग चुनावी मैदानमा उत्रिएका छन् । २०३० सालमा साविकको आगिञ्चोक गाविस वडा नम्बर १ मा जन्मिएका सिंखडा माओवादी केन्द्रको हेडक्वाटर सँग साम्रो सम्बन्ध बनाउन सफल नेता हुन् । माओवादी केन्द्रको सिंगो मदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष समेत रहेको सिंखडाले ०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा २ मा १७ हजार ६ सय ५ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका थिए । यस प्रदेशमा ३५ हजार ६ सय ७ मत खसेको थियो । सिंम्खडाको मतान्तर १ हजार ८ सय ३१ रहेको थियाे ।

२०४६ साल कात्तिकमा भीमोदय माध्यमिक विद्यालय गोलाङले पञ्चायत विरोधी गतिविधिमा संलग्न भएको भन्दै निष्कासन गरेपछि सिंखडाले औपचारिक राजनीतिक यात्रा सुरु गरेका थिए । आइए सम्मको अध्ययन पुरा गरेका सिंखडाले २०५३ सालमा माओवादी जनयुद्ध सुरु भएपछि भूमीगत बनेर सक्रिय राजनीतिमा होमिएका थिए ।

माओवादी जनमुक्ति सेनाको धादिङ जिल्ला प्लाटुन कमिसार बनेर फौजी नेतृत्व सम्हालेका सिंखडालाई २०६१ सालमा पार्टीले कास्की पठाए सँगै पोखरा गएर उनी अखिल नेपाल ट्रेड युनियन महासंघको गण्डक क्षेत्रीय व्यूरो संयोजक बने । माओवादी शान्ति प्रक्रियामा आएपछि सिंखडा अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष बने । हाल उनी माओवादी केन्द्र उपत्यका विशेष प्रदेशका संयोजक तथा अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष छन् ।

प्रदेशको गत कार्यकालमा मन्त्री हुने अवसर नपाएका उनीले आफ्नो कार्यकालमा उत्तरी धादिङको मुहार फेरेको दावी गर्ने गरेका छन् । यो पटक सिंखडाले चुनाव जित्न सके बागमती प्रदेशको मन्त्री बन्ने माओवादी वृतमा चर्चा सुरु भैसकेको छ । यद्यपी राप्रपाका डम्बर तामाङको उम्मेदवारीमा एमालेको सहयोग रहेकोले चुनावी प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।