राष्ट्रपति कार्यालय अगाडि निहारिकाद्वारा आत्मदाह प्रयास

Avatar photo
Dhadingpost
साउन २७, २०७९

काठमाडौं । बलात्कार आरोपीलाई सजाएको माग गर्दै एक सातादेखि आमरण अनशन बस्दै आएकी निहारिका राजपुतले आज आत्मदाहको प्रयास गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासअगाडि उनले आत्मदाहको प्रयास गरेकी हुन् ।

उनी एक सातादेखि वसन्तपुरमा अनशन बस्दै आएकी थिइन् । प्रहरी परिसर काठमाडौंका डिएसपी अंकुर जिसीका अनुसार प्रहरीको सक्रियतामा उनलाई आत्मदाहबाट बचाइएको हो । राष्ट्रपति निवासअगाडि आइपुगेपछि उनले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाउने प्रयास गरेकी थिइन् । त्यसलगत्तै नजिकै रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले तत्कालै उनलाई शिक्षण अस्पताल महाराजगन्ज पुर्याएको थियो ।

जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उनले बच्चाको डिएनए टेस्ट म्याच गराउन र आरोपिलाई पक्राउ गर्न माग राखेकी छन् । यसअघि आरोपिलाई जिल्ला अदालत धनुषाले उनीहरुबीच सहमतिमै सम्वन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । उक्त मुद्दाको पेशी सरेको स¥यै छ । निहारिकाले चाँडो आफ्नो मुद्दा किनारा लगाउन माग गरेकी छन् ।

यसअघि गत जेठमा पनि निहारिका आमरण अनशन बसेकी थिइन् । सरकारी पक्षसँग ५ बुँदे सहमति पछि उनको अनशन तोडिएको थियो । गृहमन्त्री बालकृष्ण खाँडले नै जुस पिलाएर अनशन तोडेका थिए । तर, आफूसँग सरकारले गरेको कुनै पनि सहमति कार्यान्वयन नभएको निहारिकाको गुनासो छ ।