बालेन, विकल्प कि विद्रोह…

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १२, २०७९

स्थानीय चुनावको अन्तिम मत परिणाम आउने क्रम जारी छ । अधिकांश स्थानिय निकायको परिणाम आईसक्दा ठुला महानगर तथा उपमहानगरहरु केहिको परिणाम आईसकेको छ भने केहिको अन्तिम चरणमा पुगेको छ । तर गणना अन्तिम चरणमा पुग्दा नपुग्दै चुनावी परिणामको समग्र चित्र भने स्पष्ट बाहिर आईसकेको छ । दलीय हार जितको गणितमा चल्ने हाम्रो चुनावी माहोल यसपालि अलि फरक रह्यो । स्वतन्त्र उम्मेदवार हरुको अकस्मात आगमन अनि महानगर तथा उपमहानगरमा उनिहरुको अप्रत्यासित जित यो चुनाबमा हेर्न लायक रह्यो ।

देशको राजधानी काठमाडौं त झन यो चुनाबमा निकै चर्चाको बिषय बन्यो त्यसमा हटकेक बने वालेन (बालेन्द्र शाह) ।
उम्मेदवारी मनोनयन अघि गीतसंगीतमा चाचो राख्ने सिमित युवा जमातबाहेक अन्य पंक्तिमा नाम नसुनिएका बालेनको मनोनयन दर्ता संगै चर्चा चुलिन थाल्यो । देश भित्र मात्र होईन देशबाहिरका मिडिया हरुले समेत उनको राम्रै प्रचार गरे । यो संगै उनि बने सबैको लागि उर्जाशिल आसा ।

हुन त बालेनको उम्मेदवारी पछि पनि उनलाई युवाहरूको लहड हो भनेर कैयौंले ‘सिरियस क्यान्डिडेट’ का रूपमा पत्याएनन । तर जब मतगणना सुरु भयो अनि सबैको मन र मस्तिस्कले एउटै नाम पुकार्न थाल्यो बालेन । मतगणनाको सुरुवाती चरणदेखि नै अग्रस्थानमा रहेका उनले अन्तिम परिणाम आउनै लाग्दा सम्म त्यो अग्रता डगमगाउन दिएनन अझ रोचक त उनको अग्रता लगातार निकटम प्रतिद्वन्द्वी भन्दा डबलको हिसाबले हुँदै गयो र लगभग २५ हजारको मतान्तरले जित्ने अवस्थामा पनि पुगे ।

मतगणनाको प्रारम्भमा उनको अग्रता काठमाडौंका पुराना मुख्य बस्तीहरू बाहेकमा मात्र सीमित हुने अनुमान गरिएको थियो । तर सबैको अनुमानलाई फेल खुवाउदै प्रत्यक जसो ओडामा उनी अग्रपंक्ति मै देखिए । परम्परागत नेवार बहुल क्षेत्रबाट समेत उनले भोटको खडेरी बेहोर्नु परेन । यसबाट प्रष्ट भयो कि काठमाडौंका आदिवासी र संस्कृतिका मुद्दा उठाउँदैमा मतदाता आकर्षित नहुने रहेछ । यद्यपि देशभर बालेन एक्लो स्वतन्त्र उम्मेदवार भने होइनन । धरानमा हर्कराज राई, धनगढीमा गोपाल हमाल, जनकपुरमा मनोजकुमार साहहरु यो निर्वाचनको चर्चा बने । अन्य कतिपय स्थानमा पनि स्वतन्त्र उम्मेदवार हरुको राम्रै आगमन भयो ।

काठमाडौंमा जन्मेर यहीँ हुर्केका मधेसी युवा बालेन शाहको नाम यसअघि सुनिएकै थिएन भन्दा पनि हुन्छ, उनी अकस्मात उदाएका पात्र हुन । दलीय घेराभन्दा निकै टाढा रहेका उनको यो उदय राजनीतिक दलहरूका लागि ठूलो चुनौती बनेको छ र खराब अभ्यास बसेको राजनितिको बिकल्पका लागि पनि बालेन योग्य छन् र सक्षम पनि । तिमीहरुले सकेनौ, हामी सक्छौं भन्ने चुनौती बोकेर आएका बालेन र अन्य स्वतन्त्रहरु अबको जन आसा बनेका छन । बालेनले जुन रुपमा मत पाए त्यसले काठमाडौमा मात्र होईन देशै भर तहल्का मच्चाएएको छ । मतदाता र जनता रमाएका छन्, उत्साहले हौसिएका छन् । उनले पाएको प्रत्येक मतले मतदातालाई दासत्वमा बाँध्न खोज्ने दलका नेताहरूको गालामा दरिलो झापड हानेको छ । यसले नेता र दलहरूको अकर्मण्यताका कारण उकुसमुकुसको अवस्थामा रहेको राजनितिमा कुनै पनि बेला बिकल्पको आगमन हुन सछ भन्ने संदेश दिएको छ। उनीहरूको व्यवहार र कामगराइ यस्तै रहने हो भने आउने दिनहरूमा धेरै बालेन, हर्क र गोपाल हरु जन्मनेछन।

काठमाडौंमा बालेनको जितले आजसम्म दलले गरे, अब बदल्नेले गरौं’ भन्ने उनको घँषणा पत्रको बुदाले सार्थकता पाएको छ। अब उनले महानगरलाई कसरी बदल्लान्  ? यो प्रश्न भने उनीतिरै तेर्सिएको छ । संघीय राजधानीसमेत रहेको महानगरलाई नयाँ ढंगले बदल्ने जिम्मेवारी उनको काँधमा आएको छ र जनताले उनलाई सानदार अधिकार सुम्पिएका छन् । त्यसो त २० लाखभन्दा बढी जनसंख्या रहेको काठमाडौं महानगरपालिकामा बालेन संगै उपमेयरमा जित निकालेकी सुनिता डंगोल संग पनि जनताको समान अपेक्षा रहेको छ ।

राजनीतिक दलको कार्यसम्पादनसँग मतदाता सन्तुष्ट छैनन् भन्ने पहिलेदेखि नै महसुस भएको हो तर दरिलो बिकल्प भेटिएको थिएन । तर काठमाडौंको जनताले एउटा बिकल्प प्रस्तुत गरे तिब्र बिस्वास र चाहमा । अब उनले यो जन चाह र बिस्वासलाई पुर्णता दिन कठिन चुनौतीको सामना गर्दै अवसरको दियो बाल्न सफल हुनै पर्छ । यो चुनावको मूल पाटो त फेरि पनि ठूला दलहरू नै सावित भएका छन । एकातिर पाँचदलीय सत्ता गठबन्धन र अर्कोतिर विपक्षी नेकपा एमाले । परिणाम दुबै पक्षको पोल्टामा गयो।तर नमिठो पक्ष माथिल्लो पंक्तिमा ध्रुवीकरण देखिए पनि पालिका तथा वडाको तहमा पुग्दा सबै दलले कुनै न कुनै रुपमा तालमेल गरे नै । यो परिदृश्य हेर्दा चुनाब मात्र दलियकरणमा फाईदा र बेफाईदाको थियो नकि मतदाताको चाहना । यसले न कुनै राजनीतिक, आर्थिक मुद्दा सम्बोधन गर्‍यो न सामाजिक मुद्दामा अग्रसरता नै । समग्रमा हेर्दा एकलाई सत्ता गठबन्धन जोगाउनु र अर्कोलाई सत्ताबाट फालिएको रन्को सान्त पार्नु नै चुनाबको परिदृश्य देखियो ।

यस्तोमा स्वतन्त्र उम्मेदवारहरुलाई कार्यगत प्रक्रियामा समस्या खडा नगर्लान भन्न सकिन्न । यी कुरामा भने उनिहरु पुर्णत सचेत हुनै पर्छ । काठमाडौं नेपालको हरेक राजनीतिक परिवर्तनमा निर्णायक ठाउँ हो । जब काठमाडौं जाग्छ तब देशैभर त्यसको असर देखिन थाल्छ । तर बिडम्बना के भने हरेक परिवर्तनपछि मसिहा ठानिएकाहरूको सबैभन्दा पहिला सम्भ्रान्तीकरणकाठमाडौंले नै तय गर्छ ! माओवादी द्वन्द देखि मधेशी आन्दोलन सम्मका परिवर्तनका पर्याय भन्नेहरु काठमाडौं सम्मको सम्भ्रान्त यात्रा तय गर्न बाहेक कुनै ठोस उपलब्धी दिन सफल भएनन् । यी सबै कुरा भुल्ने हो भने सत्ताको लोभ र त्रासले ग्रसित बनेको छ काठमाडौं । यस्तो अवस्थामा बालेन शाहको उदयले चुनौतीका बिच खुसी संगै एउटा डर पनि पसेको छ कतै यहाँको सम्भ्रान्त मानसिकता र वातावरणले यी युवाको जोस अनि जनताको अपेक्षालाई निरर्थक पारिदिने त होईन ? बालेनको जित नेपालको राजनीति, खास गरी स्थानीय तहमा एउटा नयाँ प्रयोग हुँदै छ, यो असफल हुनु हुँदैन, यसलाई असफलताबाट जोगाउनु तपाईं हामी सबैको उत्तिकै जिम्मेवारी हुनुपर्छ ।

राजधानी देखि धरान धनकुटा सम्म स्वतन्त्र क्रेज
तथ्यांक हेर्ने हो भने स्थानीय तहको निर्वाचनमा ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार अनुमोदित भएकाछन् । ठुला राजनितिक दलका उम्मेदवारलाई पराजित गर्दै १३ जनाले त पालिका प्रमुखको नेतृत्व लिन समेत सफल भए। स्वतन्त्र जनप्रतिनिधि मध्ये चार जना उपप्रमुख/उपाध्यक्ष, १ सय ३६ वडाध्यक्ष र २ सय ३२ वडा सदस्य छन् ।

यो निर्वाचनमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्  । कर्णालीमा निर्वाचित हुनेमा २ नगरप्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष, २० वडाध्यक्ष र ४२ वडा सदस्य गरी ६८ जना छन् ।
सुदूरपश्चिममा १/१ नगरप्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, २३ वडाध्यक्ष र ४६ वडा सदस्य स्वतन्त्र रूपमा विजयी भएका छन् ।सबैभन्दा कम वाग्मती प्रदेशमा ३६ जना स्वतन्त्र विजयी भएका छन् । प्रदेश १ मा ६७, गण्डकीमा ५४, मधेसमा ५० र लुम्बिनी प्रदेशमा ३७ जना स्वतन्त्रबाट विजयी जन प्रतिनिधि छन् ।

उनीहरूमध्ये केही कहिल्यै दलमा आबद्ध नभएकाछन् भने केही दलका बागी(स्वतन्त्र) बनेका छन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर वालेन्द्र (बालेन) साहले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षीका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गरे । ११ उपमहानगरपालिकामध्ये धरानमा हर्कराज राई,जनकपुरमा मनोजकुमार साह र धनगढीमा गोपाल हमाल स्वतन्त्रबाट विजयी भए । जनकपुरका साह कांग्रेसका बागी हुन । धरानका राई खानेपानी समस्यालाई मुख्य मुद्दा बनाएर चुनावी मैदानमा उत्रिएका संर्षशिल पात्र हुन । हमाल भने अघिल्लो स्थानिय चुनाबमा पराजय पछी सकृयता बढाएका पात्र हुन ।

यता काठमाडौंका बालेन ईन्जिनियर तथा र्याप गायक हुन उनी अकस्मात राजनितिमा उदाएका स्वतन्त्र पात्र हुन । निर्वाचन आयोगका अनुसार २०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट नगरप्रमुखमा २, गाउँपालिका अध्यक्षमा ४, उपाध्यक्षमा ५, वडाध्यक्षमा ९१ र वडा सदस्य १ सय ३१ गरी २ सय ३३ जना निर्वाचित भएका थिए । अहिलेजस्तो ठूला र सहरी क्षेत्रका पालिकामा स्वतन्त्र उम्मेदवारले जित निकाल्न सकेका थिएनन्  ।

स्वतन्त्रहरुको आसा लाग्दो बिजयले राजनितिक दुर्गन्ध सहन बाध्य जनतामा केहि सकारात्मक सन्देश प्रवाह गरेको छ । स्वतन्त्र व्यक्तिहरूले राजनीतिक दलको सिन्डिकेटलाई तोड्दै वैकल्पिकशक्तिका रूपमा आउने प्रयास गरेका छन् । यसले सबै दललाई राम्रै झापड दिएको छ भने उनिहरुलाई सुध्रन पनि दबाब छरेको छ । त्यसो त स्वतन्त्ररहरूको यो जितले स्थानीयस्तरमा हुने दलीय प्रतिस्पर्धा र केन्द्रबाट हुने चरम राजनीतिक हस्तक्षेपलाई पनि चुनौती थपिदिएको छ । स्थानीय तहमा निर्दलीय प्रतिस्पर्धा हुँदा जनताले राम्रा र योग्य उम्मेदवार छान्ने अवसर पाउँछन् भन्ने संदेश यसको अर्को पाटो हो ।

स्थानीय तह केन्द्रको नियन्त्रणमा राख्दा अझ भनौ केन्द्रले हस्तक्षेप गर्दा स्थानीय जनमतसँग दल जोडिन सकेनन। स्थानीय तह निर्वाचनमा दलहरूले मतदाताको चाहनालाई उपेक्षा गरे! जसले गर्दा जनमत बैकल्पिक शक्तिको आसामा स्वतन्त्र तर्फ देखा परे। यसको घुमाउरो संदेश स्थानीय तहमा केन्द्रको हस्तक्षेप हुनु हुदैन भन्ने नै हो।

समग्रमा यसपालिको निर्वाचनमा केही स्वतन्त्र उम्मेद्बारहरुको आगमन र जितले गिजोलिएको राजनितिको बिकल्पमा एक प्रकारको आसा जगाएको छ। संगै अप्रत्याशित स्वतन्त्र हरुको आगमनले सबै राजनितिक दलले भने आ-आफ्नो हिसाबले हारेको पक्कै महसुस गरे होलान् । लामो समय देखि भिजन र मिसन बिनाको खराब राजनितिक अभ्यास र खटन-पटनमा राष्ट्रले समेत हार्दै गएको र राज्यको हरेक क्षेत्रमा राजनीतिको नालायकी पन प्रकट हुँदै गएको अवस्थामा अब पनि ठुला दल सच्चिएनन् भने जनताले अवज्ञा मात्र हैन विद्रोह गर्दै आफ्नो अधिकार सहितको बिकल्पको लागि पक्कै कडा कदम चाल्नेछन। मुख्य कुरा अहिलेको स्वतन्त्रहरुको जित पुरानो राजनितिको बिकल्प बन्ला वा बिद्रोहको माध्याम प्रतीक्षाको घडी बनेको छ ।