
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले जनाए अनुसार आवश्यक माग संख्या भन्दा दोब्बर बढीले आवेदन दिएका छन् । डिएसपी जागेश्वर भण्डारीका अनुसार स्थानीय तहको निर्वाचनका लागि धादिङमा १ हजार ४०७ म्यादी प्रहरी माग गरिएकोमा २ हजार ८ सय बढिले आवेदन छन् ।
आवेदन दिनेमा महिला भन्दा पुरुषको संख्या बढि रहेको छ । आवेदन दिनेमा महिला ६ सय ६८ र पुरुष २ हजार १ सय ५९ जना रहेको भण्डारीले बताउनुभयो।धादिङमा एक हजार ४०७ म्यादी प्रहरी भर्ना लिइने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । फाईल तस्वीर
छनोट प्रक्रिया १५ चैतदेखि, नतिजा प्रकाशन चैत २२ गते गरिने भएको छ । छनोटमा परेका आवेदकलाई चैत २८ बाट प्रशिक्षण दिएर प्रहरीको सहयोगीका रूपमा मतदान स्थल र केन्द्र तथा आवश्यकता अनुसार गस्तीमा खटाइने नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ ।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि मागिएको १ लाख म्यादी प्रहरीमा झन्डै तेब्बर संख्यामा आवेदन परेको छ । शुक्रबार अन्तिम दिनसम्म २ लाख ९३ हजार २६३ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रधान कार्यालयले आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि चैत ६ देखि ११ सम्म म्यादी प्रहरी भर्ना खोलेको थियो । सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुमा निवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
प्रधान कार्यालयका अनुसार चैत ९ गते सबभन्दा बढी ५८ हजार २२१ जनाले आवेदन दिएका थिए । त्यस दिन महिला ११ हजार २८६ र पुरुष ४६ हजार ९३५ जना छन् ।
