धादिङ उद्योग वाणिज्य संघको चुनावमा सत्ता गठबन्धन जोगाउन कांग्रेसलाई अध्यक्ष दिने माओवादीको तयारी

Avatar photo
Dhadingpost
चैत्र १०, २०७८

धादिङ । धादिङ उद्योग वाणिज्य संघको १० औं अधिबेशन आजबाट धादिङबेसीमा सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने यस अधिबेशनमा आफ्ना अध्यक्षका उम्मेदवार बोदनाथ दुवाडीलाई फिर्ता गरि कांग्रेसलाई अध्यक्ष दिएर सत्ता गठबन्धन जोगाउने तयारीमा माओवादी केन्द्र लागेको बताईएको छ ।

कांग्रेसले सत्ता गठबन्धन भत्काएर एमाले सँग गठजोड गर्न खोजेपछि जसरी पनि सत्ता गठबन्धन जोगाउनु पर्ने भन्ने अभिप्रायले बरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष लिएर अध्यक्षमा कांग्रेसलाई सहयोग गर्ने प्रस्ताव गरिएको माओवादी केन्द्र धादिङका एक नेताले धादिङपोष्टलाई बताए ।

माओवादी केन्द्र र नेकपा एसले अध्यक्षमा बोदनाथ दुवाडीलाई उठाउने भए सँगै कांग्रेसले एमालेलाई बरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष दिने गरि सहमति गरि सकेको कारण कांग्रेसले माओवादीको सत्ता गठबन्धन जोगाउने प्रस्ताव भने स्वीकार गरि नसकेको बताईएको छ ।

माओवादीले अध्यक्ष छाड्ने कुरा स्वागत योग्य भएको कांग्रेस धादिङले जनाएको छ तर माओवादीले यो वा त्यो पदको दावी नगरी सबैको सहमतिमा सबैको प्रतिनीधित्व हुनेगरि उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन गर्नुपर्ने जनाएको छ ।

उद्योग वाणिज्य संघमा एमाले र कांग्रेसको गठबन्धन बने आशन्न स्थानीय तहको निर्वाचनमा समेत प्रभाव पर्न सक्ने आँकलन पछि माओवादी, नेकपा एसले काँग्रेसलाई अध्यक्ष दिएर भएपनि सत्ता गठबन्धन जोगाउनु पर्ने निकर्षमा पुगेको स्रोतको दावी छ ।

धादिङ उद्योग बाणिज्य संघमा दशौँ अधिवेशनका लागि १७ सय ९२ जना मतदाता रहने धादिङ उद्योग बाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत रोहित भण्डारीले जानकारी दिए । नवौ अधिवेशनमा १५ सय ८९ जना मतदाता रहेका थिए ।