
धादिङ । धादिङ उद्योग वाणिज्य संघको १० औं अधिबेशन आजबाट धादिङबेसीमा सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने यस अधिबेशन मा कांग्रेस-एमाले नीकट ब्यवसायीको एउटा गठबन्धन र माओवादी केन्द्र-एकीकृत समाजवादी नीकट व्यवसायीको अर्को गठबन्धन बनेको छ ।
कांग्रेस-एमाले नीकट ब्यवसायीहरुले अध्यक्षमा विष्णु प्रसाद थपलियालाई अगाडी सारेका छन् भने माओवादी-एकीकृत समाजवादीले पूर्व अध्यक्ष समेत रहेका बोदनाथ दुवाडीलाई अध्यक्षमा उठाउने निर्णय गरेका छन् ।
भन्नका लागि उद्योगी ब्यवसायीहरुको चुनाव भनिएपनि यस पटकको उद्योग बाणिज्य संघको चुनाव राजनितिक दलहरुको जुँगाको लडाइ हुने प्रष्ट देखिएको छ । नजिकिदो स्थानीय तहको निर्वाचन र संसदीय निर्वाचनमा समेत यसको नतिजाले मनोबैज्ञानिक प्रभाव पार्न सक्ने देखेर राजनितिक दलहरु उद्योग बाणिज्य संघको नेतृत्व हत्याउन जोडबल गरिरहेका छन् ।
नवौँ अधिवेशन ताका तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन बनेर नेकपा बनेका बेला कम्युनिष्ट विचारधारका ब्यवसायीहरु एकापट्टि र कांग्रेस विचारधाराका ब्यवसायीहरु अर्कापट्टिी भएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उक्त अधिवेशनमा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र निकटका रुद्र बहादुर खत्री अध्यक्षमा विजयी भएका थिए ।
विगत देखि नै संघको नेतृत्वमा कब्जा जमाएको माओवादी निकटलाइ हराएर नेतृत्व लिने दाउमा काँग्रेस एमालेका ब्यवसायीहरु लागेका छ्न भने एमालेबाट फुटेर बनेको एकिकृत समाजबादीलाइ सम्मानजनक हैसियत दिएर आफ्नो अस्तित्व जोगाउन नेकपा माओवादी केन्द्र निकटका ब्यवसायीहरु लागिपरेका छन् ।
धादिङ उद्योग बाणिज्य संघमा दशौँ अधिवेशनका लागि १७ सय ९२ जना मतदाता रहने धादिङ उद्योग बाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत रोहित भण्डारीले जानकारी दिए । नवौ अधिवेशनमा १५ सय ८९ जना मतदाता रहेका थिए ।
