प्रकाशको ‘पीर’ नेतृत्वलाई खबरदारी गरौं भन्ने हो

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ३०, २०७८

गीत सार्वजनिक भएको केही घन्टामै प्रकाश सपुत यतिखेर विवादको घेरामा परेका छन् । समसामयिक र समाजिक विषयवस्तुमा गीत बनाउन थालेका उनका यस अघिका बदला वरीलै मेरोे पनि हैन र यो देश ? ले जति प्रशंसा पायो ‘पीर’ले प्रशंसकका साथै विरोधी समूह पनि जन्मायो ।

राजनैतिक विषय जोडिएको र एक पक्षिय जस्तो देखिने यो गितले समाजमा भएका केही अध्याँरो पक्षलाई उजागर गरेको देखिन्छ । यद्यपी माओवादी विद्रोहमा सहभागी पात्रहरुको जिवनसँग जोडिएर आएकोले यो गीतमा माओवादी सर्मथकहरुको विशेष आपत्ति रहेको देखिन्छ ।
खासगरी गितको मुख्य पात्रहरु आन्दोलनमा अग्रमोर्चामा रहेका तर शान्तिपूर्ण अवतरण पछि उनीहरुको दैनिकीमा खासै फेरबदल नआएकाले जिविकाका लागी एउटा आम नागरिकले झै सम्झौता परस्त जिवन निर्वाह गर्नु पर्ने बाध्यताका वीच केही असामाजिक सम्झौता गरेको विषयमा माओवादी सर्मथकको विरोध रहेको देखिन्छ । गीतले माओवादी आन्दोलनलाई बदनाम गराउने उद्देश्य राखेको उनीहरुको तर्क देखिन्छ ।

कथामा रोमाञ्चकता थप्न भनौ वा कसिलो बनाउन उनले माओवादी शसस्त्र विद्रोहलाई सहारा लिएको भए पनि नेपाली राजनीतिको विडम्बना भनौ या कटु सत्य राजनीतिका नाममा जनता प्रातडित हुने परेको घटना भने यो नौलो होइन । प्रकाश सपुतको पीर खासमा समाजमा भएको राजनीतिक व्यापारले कसरी जनता र नेताका वीचमा खाडल उत्पन्न गराएको छ भन्ने चित्रण गर्नु नै हो । जसरी मुलुकको अर्थ व्यवस्थाले धनी र गरिवका बीचमा असमानता बढाएकोछ उसैगरी मुलुकको राजनीतिले पनि नेता र जनताका वीचमा वर्गीय दुरी बढाएको देखिन्छ ।

उस्तै समयमा राजनीतिमा होमिएका नेता र जनताको जिवनशैलीमा आएको फरक खालकोे परिवर्तनले राजनीति कमाउने धन्दा होकी समाज र मुलुक रुपान्तरणको अभियान हो भन्ने कुरामा बहस थालनी हुनु पर्ने देखिन्छ । माओवादी आन्दोलनमा होमिएकाहरु मध्ये पीडामा रहेको एउटा प्रतिनिधिमूलक घटनाले माओवादी आन्दोलनलाई बदनाम गराउछ की भनेर विरोध गर्नु भन्दा पनि यस गीतमा उठान भएको विषयले हाम्रो राजनीति जनतालाई छुने गरी चलिरहेको छ की छैन ? भन्ने तर्फ बहस भयो भने मात्र विवादलाई सही निष्कर्ष तर्फ पुर्याउन सकिन्छ ।

राजनीतिलाई पेशा झै ठान्ने हाम्रो चिन्तन र व्यवहारका कारण पनि हाम्रो राजनीति बदनाम हुदै गएको हो । प्रकाशको पीरलाई एक छिन दलीय आँखाबाट नहेर्ने हो भने उनको गीतमा भएको पात्रहरु हरेक जसो दलका झन्डा बोकेका कार्यकर्ता, मतदातार नागरिकहरुले लगभग यस्तै खालको जिन्दगी जिउन बाध्य भएकोछ । फरक यति हो पीरमा देखिएका पात्रहरु माओवादी आन्दोलनमा होमिएका र उनीहरुले अपनाएको पेशा माथी समाजको हेर्ने दृष्टिकोण नकारात्मक भएकोले मात्र प्रकाश माओवादी सर्मथकका तारो बनेका हुन् ।

पटक पटक व्यवस्था परिवर्तनको मुद्दा उठाएर राजकयि सत्तामा नपुगेका कुनै पनि दलहरु अहिले नेपालमा छैनन् । तर उनीहरु सत्ताको चास्नीमा डुब्दै गर्दा आज जनताको त परै जाओस् इमान्दार तर निमुखा कार्यकर्ताको जिवनमा भने कुनै फेरबदल आएको छैन । पीरमा देखिएको पात्र खासमा माओवादी कार्यकर्ता मात्र हो भन्ने दृष्टिकोण राखियो भने प्रकाशले उठाउन खोजेको मुद्दा ओझोलमा पर्नेछ । किनभने यस्ता निमुखा कार्यकर्ता एमाले काँग्रेस माओवादी सबैका छन् उनीहरुको जिन्दगीले छालांग मार्न त परै जाओस यो वा त्यो रुपमा उस्तै पीर व्यथा भएको तर फरक खाले कथा बोकेको जिवन जिउन बाध्य भएको उदाहरण हामीसँग प्रशस्तै छन् । अझ नागरिकका रुपमा त यस्ता व्यथाहरु बोकेर कष्टकर र नारकीय जिवन जिउने जिन्दगीहरु त कति छन कति ।

धुलो मैलो जिन्दगीबाट अधिकारका लडाई लड्ने काँग्रेस एमाले र माओवादीका नेता तथा कार्यकर्ताको जिवनशैलीमा आएको गुणात्मक परिवर्तन नेताका हकमा मात्र देखिनु तर आम सर्वसाधरणको जिवनमा नदेखिनु निश्चय पनि सोचनीय विषय हो । प्रकाशले त्यही विषय उठाएका मात्र हुन तर समस्या के भैदियो भने माओवादी सर्मथकले आफ्ना सहकर्मीको त्यो पीडालाई बुझ्न चाहेनन् नै माओवादी इतरहरुले पनि त्यस्ता पात्रहरु हाम्रा घर वरी परि र आफ्ना समाज भित्रै छन् भन्ने कुरालाई नजर अन्दाज गरिदिए । अनि त्यस्ता पात्रहरुको उपस्थिति हाम्रो समाजका लागी पीडादायी हुनका साथै मानवीय दृष्टिकोणबाट पनि गलत हुने भएकोले यस्ता विषयलाई उठाएर नेतृत्व प्रति खबरदारी गर्नुपर्छ भन्ने दुस्साहस चाँही कसैले गरेनन् ।

हाम्रो राजनीतिको पाखन्डपनको उजागर भएको यो गीतले माओवादीलाई मात्र लक्षित गरेको ठान्नु पनि अर्को पाखन्डपन नै हो । माओवादी आन्दोलनका पक्ष विपक्षमा बहस गर्न सकिन्छ, आन्दोलनका सकारात्मक नकारात्मक पक्षको पनि उत्खनन गर्न सकिन्छ तर समाजमा पीर बोकेर जिउने असंख्य पात्रहरु छन् जस्ले राजनीतिक अधिकार त पाए होला तर आधाभूत जिन्दगीका न्यूनतम मानवीय अधिकार पनि पाउन सकेका छैनन् ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र अनि संघीयता सँगै आएको राजनैतिक परिवर्तन जनताको चुल्हो सम्म आइनसकेको तितो सत्यलाई यदी कसैले नकार्छ भने त्यो भन्दा ठुलो पाखन्डपन केही हुनै सक्दैन । सुकिला मुकिलाहरुको बोलवाला रहेको अहिले व्यवस्थामा नेता र कार्यकर्ता वीचका रहेको खाडल जति फराकिलो छ उत्तिकै फराकिलो खाडल जनता र नेताका वीचमा रहेको देखिन्छ ।

सपुतले पीर मार्फत नेपाली राजनीतिको अध्याँरो पक्षमा प्रकाश हालेका मात्र हुन् । चिल्ला नेताहरुको मन मुटुमा नबसेका जनताका आवाज मात्र उजागर हुन उनले । त्यसैले माओवादी तर्फ लक्षित भएको जस्तो देखिए पनि यो गितले नेपाली राजनीतिको त्यो अध्याँरो पक्षलाई उठाएको अर्थमा दिनु उचित हुनेछ । उही धरातलबाट राजनीति गरेका नेता र कार्यकर्ताको जिवनमा आएको उलटपुलट र उथलपुथल जनताको दैलोसम्म नआएको परिणाम स्वरुप शरीर बेच्न बाध्य चेली देखि लिएर श्रम वेच्न बाध्य थुप्रै नेपाली जनताको घरको कथा पढ्ने हो भने पीर माथी कसैले पनि राजनीति गर्ने नैतिक आधार भेटिन्न ।

बरु सबैले के बुझ्नु पर्छ भने प्रकाशले एक किसिमको कालो दाग नेताहरुको अनुहारमा औल्याइदिएका छन् जुन हाम्रा सबै दलका नेताहरुले एक्लै कोठामा बस्दा प्रष्ट सँग देख्नेछन् । यदी हाम्रा नेताहरुले छातीमा हात राखेर आफैलाई सोध्ने हो भने पनि उनीहरुको राजनीति के जनमुखी नै थियो की थिएन भनेर सही उत्तर पाउनेछन् ? त्यसैले पीर माथीको बहस दलीय आस्था रहेर भन्दा माथी उठेर गर्ने पो हो की ? पीर बोकेर बाँच्ने पात्रहरु प्रकाशको गीतमा मात्र होइन हाम्रो समाजमा पनि छन् जस्ले एमाले, काँग्रेस, माओवादी वा अन्य कुनै दलको झन्डा बोके होलान् वा तिनलाई मत दिए होलान् ।