
धादिङ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले द्वन्द्व र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीको व्यवस्थापन गर्ने निर्णय गरे सँगै धादिङका १ जना शिक्षक पुनरबहाली भएका छन् भने अन्य तीन जनाले एकमुष्ट आर्थिक सहायता पाउने भएका छन् ।
स्थायी शिक्षक रहेकै बेला जनयुद्धमा होमिएका हाल माओवादी केन्द्र नीकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीलाई मन्त्रिपरिषद् बैठकले पुनर्वहाली गरि दिएको छ भने । अन्नपूर्ण प्राविमा पढाउँदै गर्दा माओवादीको पूर्णकालिन कार्यकर्ता बनेका विरबहादुर मगर, निरञ्जना माविमा पढाउने हाल नेत्रावती डब्जोङ १ का निर्वाचित वडा सदस्य शंकर अधिकारी र पञ्चकन्या पढाउँदै गर्दा माओवादी जनयुद्धमा सहभागि लक्ष्मी श्रेष्ठ हाल मकवानपुरले भने एकमुष्ट आर्थिक सहायता पाउने भएका छन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार धादिङको १ जना सहित २३३ शिक्षकको पुनर्वहाली हुने भएका छन् भने। १८ जना शिक्षकको नियुक्ति, ४१ शिक्षकको सेवासुविधा र धादिङका ३ जना सहित २८४ शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका छन् ।
बैठकको निर्णयअनुसार स्थायी नियुक्तिपत्र लिएका तर हाजिर भई कामकाज गर्न नपाएका १८ जना शिक्षकलाई रिक्त दरबन्दीमा नियुक्ति गरी काममा लगाउने र विद्यालयमा हाजिर भएको मिति देखिको सेवा अवधि गणना गरिने भएको छ । उमेरहदबाट अनिवार्य अवकाश भएको वा मृत्यु भएको मितिसम्मलाई आधार मानी न्यूनतम निवृत्तिभरण प्रयोजनका लागि बढीमा पाँच वर्ष अवधि जोडिने र यसरी थप गर्दा पनि निवृत्तिभरण नपाउने अवस्था भएमा उपदान दिने प्रयोजनका लागि एकमुष्ट पाँच वर्ष अवधि थप गरिने भएको छ ।
अवधि थप गर्दा निवृत्ति भत्तरण पाउने व्यक्तिले यसअघि उपदान लिइसकेका भए सो रकम फिर्ता गरेपछि मात्र निवृत्तिभरण पाउने भएका छन् । सेवाबाट हटाइएका दुई सय ८४ अस्थायी शिक्षकका सम्बन्धमा निजहरूले पाउने सञ्चित बिरामी बिदाको बाहेक एकमुष्ट आर्थिक सहायता पाउने भएका छन् ।
