
धादिङ । तात्कालिन शाही सेनाले आजैका दिन अर्थात ०५८ फागुन ११ गते बिहान ९ बजे धादिङ जोगिमाराका १८ जनालाई कालिकोटको कोटबाडामा सेनाले हेलिकप्टरबाट आक्रमण गरि हत्या गरेको थियो ।
मजदुरीका लागि देशका विभिन्न जिल्लाबाट कालिकोट जिल्लाकोे कोटवाडा गाविसको सुन्थराली विमानस्थल निर्माणमा संलग्न रहेको बेला सेनाले घेराबन्दी गरेर चलाएको गोलीबाट धादिङका १ ठेकेदार र १७ मजदुर सहित ३७ जना मजदुर मारिएको अहिले २० वर्ष भइसकेको छ ।
०५८ फागुन ११ गते उनीहरूको सामूहिक हत्या भएको थियो । हत्यापछि शव नपाएपछि उनीहरूलाई बेपत्ताको सूचीमा राखिएको थियो । परिवारका सदस्य काममा गएका आफन्त र्फकने आसमा थिए । रेडक्रसको पहलमा पीडित परिवारलाई शव गाडेको ठाउँ देखाएपछि पीडा कम भएको विष्णु चेपाङले बताए । ‘लास नि सास नि नपाउँदा हाम्रो छोरा जंगलका बाँदरजस्तै मारिएका हुन् र ? जस्तो लाग्थ्यो,’ उनले भने, ‘लास गाडेको ठाउँ देखेपछि स्तम्भ बन्यो, मन भुलेको छ ।’ आफन्तको अन्त्येष्टि गरेको ठाउँको माटो ल्याएर स्तम्भमा राखेको उनले बताए ।
विमानस्थल निर्माणका लागि धादिङ जिल्लाको जोगिमारा र धुषा गाविसबाट कोटवाडा पुगेका १ ठेकेदार सहित १७ जना र अन्य जिल्लाका गरी ३७ जना मजदुरलाई माओवादी हुनसक्ने आशंकामा २०५८ फागुन ११ गते सुरक्षाफौजले घेराबन्दीमा पारेर गोली हानी सामूहिक हत्या गरेको थियो । हत्या भएकामध्ये धादिङका सबै जना अति विपन्न परिवारका थिए ।
कोटबाडामा एकै पटक सेनाबाट धादिङका को को मारिएका थिए एकै ठाउँमा
१. बुद्धराज चेपाङ, जोगिमारा धादिङ
२. तिलु चेपाङ जोगिमारा धादिङ
३. रामबहादुर चेपाङ, जोगिमारा धादिङ
४. कुम्ले चेपाङ, जोगिमारा धादिङ
५. शेरबहादुर चेपाङ, जोगिमारा धादिङ
६. दिल्ला चेपाङ, जोगिमारा धादिङ
७. विकास चेपाङ, जोगिमारा धादिङ
८. भिमबहादुर मगर जोगिमारा धादिङ
९. ज्ञानबहादुर थापा, जोगिमारा धादिङ
१०. मञ्जु थापा, जोगिमारा धादिङ
११. टेकबहादुर गुरुङ, जोगिमारा धादिङ
१२. गोकण गुरुङ, जोगिमारा धादिङ
१३. कान्छा चेपाङ, जोगिमारा धादिङ
१४. राजकुमार श्रेष्ठ, जोगिमारा धादिङ
१५. टेकबहादुर विक, जोगिमारा धादिङ
१६. सानुकान्छा विक, जोगिमारा धादिङ
१७. कुमार विक, जोगिमारा धादिङ
१८. कुमार थापा, जोगिमारा धादिङ
कालिकोटको कोटवाडामा बनिरहेको सुनथराली विमानस्थल निर्माणका लागि धादिङ, रामेछाप, सिन्धुली, गोरखा, सिन्धुपाल्चोक र काभ्रेलगायतका जिल्लाबाट मजदुर लगिएको थियो । गरिबीको चपेटामा परेर जीवन निर्वाहका लागि काम खोज्दै कालिकोट पुगेका ती मजदुर माओवादी र सेनाको द्वन्द्वको चपेटामा परेर मारिएका थिए । कोटवाडा घटना हुनु केही दिनअघि मात्रै माओवादीले अछाम सदरमुकाम मंगलसेन आक्रमण गरेर भागेका थिए ।
माओवादी त्यहाँबाट भागेपछि सेनाले घेराबन्दी गरेर चलाएको गोलीबाट ३७ जना मानिस एकै चिहान भएका थिए । मारिनेमा कामदार, ठेकेदार, स्थानीय बासिन्दा र दुईजना बालकसमेत ३७ जना थिए । कमाउन गएका घर मूली तथा परिवारका सदस्यहरु मारिएपछि जोगिमाराका चेपाङ, दलित र अन्य विपन्न परिवारको अहिले सम्म बिचल्ली भएको छ । २०५८ मङ्सिरमा कालीकोटको कोटवाडा विमानस्थल खन्न काम पाइने खबर फैलिएपछि धादिङको जोगीमारा र धुषाका १८ जना कामको खोजी गथर्दै ऋण काढेर ठेकेदारको पछि लागेर कालीकोट गएका थिए ।
०५८ सालमा कालिकोटस्थित कोटवाडा विमानस्थल निर्माणमा खटिएका जोगीमारा ३७ मजदुरलाई राज्य पक्षले माओवादीको आरोपमा हत्या गरे सँगै माओवादी केन्द्रले उनीहरुको स्मृतिमा हरेक वर्ष फागुन ११ गते मजदुर बलीदानी दिवस मनाउँदै आएको छ । (बेनीघाट रोराङ जोगिमारामा बन्दै गरेको सहिद स्मृति पार्कको फाईल फोटो)
