इकाइ प्रमुख नहुँदा, बुढीगण्डकी आयोजनाको घरगोठको मुआब्जा अन्योल

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ७, २०७८

धादिङ । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना बुढीगण्डकी जलविद्युत आयोजना वातावरण मुआब्जा पुनर्वास तथा पुनर्स्थापना इकाइ प्रमुख सरुवा भएको र आर्को प्रमुख नआएकोले मुआब्जा निर्धारण अन्योल भएको छ ।

यस अघिका इकाइ प्रमुख कृष्णबहादुर कार्कीलाई सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिइओ नियुक्त गरेपछि डुबान क्षेत्रको घरगोठको मुआब्जा निर्धारणमा अन्योल भएको हो ।

बूढीगण्डकी आयोजनाले डुबान क्षेत्रका घरगोठ, बोटबिरुवा, फलफूलको मुआब्जा काम अन्तिम चरणमा पुर्‍याएको छ । तर, इकाइ प्रमुख नहुँदा मुआब्जा निर्धारण हुन नसकेको हो । यसअघि फागनु दोस्रो हप्तामा मुआब्जा निर्धारण गरी वितरण सुरु गर्ने बताइएको थियो ।

घरगोठ, बोटबिरुवाको मुआब्जा निर्धारणका बारेमा गोरखा र धादिङको छलफल सकेकै दिन कार्कीलाई नेप्सेमा लैजाने सरकारले निर्णय गरेको थियो । कार्की सो इकाइ कार्यालय स्थापना भएदेखि केही दिनअघिसम्म कार्यरत थिए । उनी घरगोठ बोटबिरुवाको मुआब्जा चालू वर्ष विनियोजित बजेटबाट बाँड्ने तयारीमा थिए । तर, कार्कीको सरुवा भएपछि अर्को आयोजना प्रमुख नियुक्त हुन नसक्दा मुआब्जा निर्धारणसम्बन्धी बैठक हुन सकेको छैन ।