सहिद मोहनी सिंखडाको भाेली स्मृति दिवस (जीवनी समेत)

Avatar photo
Dhadingpost
शनिबार, माघ २९, २०७८

समय यति बलवाल छ की, न रोकेर रोकिन्छ, न त यसलाई कसैले लोभ लालचमा नै फसाउन सक्छ । यदि हामी कसैको सामु आफुलाई केहि हद सम्म फरक देखाउन चाहान्छौं भने समयको नेटो भित्रै हामीले आफुलाई चलाएमान बनाउनु पर्छ । यदि हामी कसैको माझ भिन्न देखिन वा देखाउन चाहान्छौं भने त्यो एक मात्र माध्ययम हो शिक्षा ।

हो, त्यसैले शिक्षा सर्वसुलभ तथा सबैको पहुँचमा हुनुपर्छ । अगाडीका पुस्ताले जे जती दुःख कष्ट भोगे आगामी पुस्ताले यसो गर्न नपरोस् । कुनै पनि व्यक्ति औपचारिक शिक्षाबाट वञ्चित हुन नपरोस् र शिक्षा सर्व सुलव अथवा सबैको पहुँचमा होस् भनेर अहोरात्र खटिरहने एक अनुशासित कर्तव्यनिष्ठ, निडर, स्पष्ट वक्ता र जहिले पनि अन्याय र अत्याचारको विरुद्ध आवाज बुलन्द गर्ने एक होनाहार योद्धा मोहनी प्रसाद सिंखडाको जन्म वि.स.२००५ साल भाद्र १७ गते बुबा डिल्ली प्रसाद सिंखडा र माता देवमाया सिंखडाको गर्भबाट कान्छा सन्तानको रुपमा हालको त्रिपुरासुन्दरी गाउँपालिका ४ कार्की गाउँ पोखरीथोकमा भएको थियो ।

वीर सहिद मोहनी प्रसाद सिंखडाको बाल्यकाल सुखद नै बित्यो । मध्यम वर्गिय परिवारमा जन्मनु भएको उहाँ निकै मेधावी हुनुहुन्थयो । वरिपरि विद्यालय नभएको र टाढा गएर अध्ययन गर्न उहाँको आमा बुबाको स्वीकृत नभएको कारण स्वअध्ययन बाटै आफ्नो पढ्ने रहर मेटाउन वाध्य हुनुभयो ।

उहाँ अत्यनत लगनशिल एवम् तिक्ष्ण बुद्धि भएका कारण देश तथा विदेशका ऐतिहासिक घटनाक्रम, इतिहास तथा ठुला व्यक्तिहरुको देश प्रतिको योगदान र उनीहरुको जिवन संघर्षको विषयमा जानकारी लिन इच्छा राख्ने गर्नुहुन्थ्यो ।

सानै उमेरमा वैवाहिक जिवनमा बाँधिएका कारण उहाँ माथि धेरै पारिवारिक उत्तरदायित्व थियो । उहाँ वि.स. २०१६ साल फागुन ११ गते देवकुमारी सिंखडा सँग विवाह बन्धनमा बाँधिनु भएको थियो । विवाहपछि ३ छोरीहरु पार्वती, निर्मला र गोमा अनि २ छोराहरु टेकराज र तेज प्रसादको जन्म भए सँगै उहाँहरु ५ सन्नको बुबा बन्नुभएको थियो ।

परिवारिक उत्तरदायित्व सँगै देश र जनताको अधिकार प्रति चासो राख्ने उहाँले कृषि, समाजसेवा र राजनीतिलाई एकसाथ अगाडी बढाउने निर्णय गर्नुभयो । उहाँको राजनीतिक यात्रा ०४६ साल देखि मोटो मशालबाट सुरु गर्नुभयो । ०४७ सालमा जनमोर्चालाई सपोर्ट गर्दै पार्टी जीवनमा होमिनु भएको हो ।

उहाँ ०४८ सालमा एकता केन्द्र हुँदै ०५१ को मध्यावधिमा चुनाव बहिस्कार गर्नुभयो । आफुले दिउको भोटको कुनै लेखाजोखा नहुने र देशले मुक्ति नपाउने भन्दै ०५१को चुनावमा तथष्टको भुमिका निर्वाह गर्नुभयो । यसै क्रममा ०५२ सालबाट नेपाल कम्युनिष्ट पार्टी माओवादीले जनयुद्धको घोषणा गर्यो । उहाँ त्यस जनयुद्धका समर्थन गरि विभिन्न सामाजिक कार्यहरु गर्दैे अगाढी बढ्नु भयो ।

०५३ सालबाट कार्की गाउँ माध्यामिक विद्यालयमा करिव ८ वर्ष विद्यालय व्यवस्थापन समिति रहि विद्यालयको भौतिक तथा आर्थिक र शैक्षिक संयन्त्रलाई सुधार गर्दै अगाडी बढ्नु भयो । उहाँले ०५३ फागुन १५ गते माओवादीको संगठित सदस्यता लिनुभएको हो ।

पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक विचलित नभई पुरा गर्ने इमान्दार सिपाही हुनुहुन्थ्यो उहाँ ।
माओवादीलाई सहयोग गरेको भन्दै पटक पटक घरमा तात्कालिन शाही सेना पुग्थ्यो । तथ्य र प्रमाण नभेटे पछि कयौं पटक उहाँ र परिवारका सदस्यलाई मानशिक तथा शारिरीक यातना दिएर शाही सेना फर्कन्थ्यो ।

पछिल्लो समय ०६० साल माघ २९ गते बृद्ध बुबा सँग सुति रहनुभएको अवस्थामा शाही सेना ओछ्यानमै पुग्यो र गिरफ्तार गर्यो ।

नीलकण्ठ नगरपालिका १३ साविकको साङ्कोष गाविस भोर्ले गुरुङ गाउँ भन्ने ठाउँमा लगेर शारिरिक र मानशिक यातना दिई २०६० साल माघ ३० गते बिहान गोली हानी गत्या गरेको थियो । यसरी आफ्नो छातीमा गोली थाप्न तयार हँदै मोहनी प्रसाद सिंखडा सहिद हुनुभयो ।

तात्कालिन जनयुद्ध लडेको पार्टी अहिले तात्कालिन एमाले सँग मिलेर देशकै ठुलो पार्टी बनेको छ उर्फ फुटको संघरमा पनि । संविधान सभा, गणतन्त्र, संघीयता, धर्म रिनपेक्षता, समाजवाद हुँदै साम्यवाद सहिदहरुको सपना थियो । यो सपना पुरा गर्ने दायीत्व जिवितहरुको हो ।

जनयुद्धको पक्षधरहरु आज सहिदहरुले कल्पना नै नगरेको संसदीय व्यवस्थाका हकदार भएका छन् जसले गर्दा सहिदहरुको सपनाहरु कुण्ठित बनेका छन् भने जनयुद्धका हकदाहरु आज टुक्रा टुक्रा पार्टीमा विभक्त भएका छन् । कोही सत्तामा छन्, आफ्ना नाता गोता र चाकरीवाजहरुलाई सुख सयलमा राखेका छन् भने कोहि अहिले पनि संघर्षको मैदानमा ।

शान्ति प्रक्रियाको कामले अझै पुर्णता पाउन सकेको छैन । वेपत्ताहरुको अझै टुङ्गो लाग्न सकेको छैन ।, घाईते अपाङहरुको अवस्था अझै भयावह छ, सहिद परिवार, वेपत्ता परिवारहरु अहिले गुमगाम छन् ।

तसर्थ जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको सम्मान गर्दै नेपालका कम्युनिष्टहरु एकता वद्ध हुँदै साम्यवाद सम्म पुग्ने एककृत वैचारिक बाटो तय गर्दै यो संसदीय व्यवस्थाबाट बाहिर निस्कनु अपरिहार्य बन्दै गएको छ ।

(लेखिका गोमा सिंखडा सहिद मोहनी प्रसाद सिंखडाको छोरी हुनुहुन्छ ।)