धादिङका स्थानीय तहले अपडेट गरेनन् ०७८ को जनसंख्या

Avatar photo
Dhadingpost
शनिबार, माघ २२, २०७८

धादिङ । धादिङका स्थानीय तहले नेपालको जनसंख्या ०७८ सार्वजनिक भएको १० दिन बितिसक्दा समेत आफ्नो आधिकारीक वेबसाईटमा ०६८ को गणना परिवर्तन गरि ०७८ को जनसंख्या अपडेट गराएका छैनन् ।

धादिङको २ नगरपालिका सहित १३ वटा स्थानीय तहहरु हाल सम्म पनि ०७८ को जनगणना वेबसाईटमा उल्लेख नगर्नको कारण तथ्याङ्क विभागले आभिकारीक पत्र नआएकोले हो भन्छन् नेत्रावती डवजोङका सूचना अधिकारी कृष्ण प्रसाद पौडेल । सामाजिक सञ्जाल तिर देखिएको जनसंख्याको विवरणलाई कसरी अधिकारीक मान्ने ? आधिकारीक निकायबाट पत्र नआउँदा सम्म ०७८ को जनगणना अनुसार यति जनसंख्या छन् भनेर मान्न नसकिने पौडेल बताउँछन् ।

आफ्नो वेबसाईटमा १० वटा वडा रहेको जनाएको बेनीघाट रोराङले २०६.५२ वर्ग कि. मी. क्षेत्रफल रहेको वेबसाईटमा जनाउँदै यस गाउँपालिकामा ३१४७५ जनाको वसोवास गनाएको छ । यो संख्या ०६८ को जनगणनाको हो । ०७८को जनागणनाले बेनीघाट रोराङमा १७५४२ पुरुष र १६९३१ महिला गरि ३४४७३ जनसंख्या रहेको छ । धुनीबेसी नगरपालिकाले आफ्नो कुल क्षेत्रफल ९६.३० वर्ग कि. मी. रहेको र कुल जनसंख्या ३१,०२९ रहेको वेबसाईटमा जनाएको छ । यो धुनीबेसीको डाटा पनि पुरानो हो । हाल धुनीबेसीको जनसंख्या १४४११ पुरुष र १४७१५ महिला गरि २९१२६ रहेको छ ।

यस्तै गजुरीले आफ्नो पालिका १३८.६६ वर्ग कि. मी. क्षेत्रफलमा फैलिए र जनसंख्या २७०८४ जना रहेको वेबसाईटमा उल्लेख गरेको छ । यो डाटा पनि नयाँ अपडेट हैन । ०७८ को जन गणना अनुसार गजुरीको जनसंख्या १४४७१ पुरुष र १४२८५ महिला गरि २८७५६ जना रहेको छ ।गल्छी गाउँपालिकाले पनि आफ्नो वेबसाईटमा ०६८ अनुसार घरधुरी ५८४९ र जम्मा जनसंख्या २७७८४ मध्ये पुरुष १४३९९ र महिला १३३८५ रहेको जनाएको छ । हालको जनगणना अनुसार गल्छीमा जनसंख्या ११८७५ पुरुष र १२३३१ महिला गरि २४२०६ जना रहेको छ ।

गंगाजमुना गाउँपालिकाले आफ्नो परिचयमा गाउँपालिकाको कुल क्षेत्रफल १४४.०९ वर्ग कि.मी. रहेको जनाएपनि वेबसाईटमा जनसंख्या उल्लेख गरेको पाईएन हाल यस गाउँपालिकाको जनसंख्या ९४९४ पुरुष र ९९६६ महिला गरि १९४६० जना रहेको छ । ज्वालामूखि गाउँपालिकाको जनसंख्या गाउँपालिकाको पार्श्वचित्र अनुसार ३२९२२ रहेको र क्षेत्रफल ११४.५ वर्ग कि. मी. रहेको उल्लेख गरेको छ तर आधिकारीक ०७८ को जनगणनाले ९८९८ पुरुष र ११३०४ महिला गरि २१२०२ जना रहेको छ ।

खनीयावास गाउँपालिकाले भौगोलिक छेत्रफल १२०.८ वर्ग कि. मी. र २०६८ सालको जनगणना अनुसार जनसंख्या १२७४९ रहेको उल्लेख गरेको छ । ताकी ०७८ को जनगणना अनुसारको जनसंख्या ५१७५ पुरुष र ५५०५ महिला गरि १०६८० जना रहेको डाटा अझै अपडेट गरेको पाईएन ।

नेत्रावती डवजोङ गाउँपालिकाले पनि आफ्नो विवरणमा ०६८को जनसंख्या १४४९९ लाई परिवर्तन गरि ०७८ को उल्लेख गरेको पाईएन हाल यस गाउँपालिकाको जनसंख्या ५३९० पुरुष र ५५०५ महिला गरि ११२७१ जना रहेको छ । नीलकण्ठ नगरपालिकाले आफ्नो परिचयमा नगरपालिकाको क्षेत्र फल क्षेत्रफल १९९.८७ वर्ग कि. मी. वेबसाईटमा उल्लेख गरे पनि जनसंख्या नै उल्लेखगरेको छैन । ०७८ को जनगणना अनुसार नीलकण्ठको जनसंख्या २७१३६ पुरुष र ३१०१५ महिला गरि ५८१५१ जना रहेको छ ।

रुबीभ्याली गाउँपालिकाले आफ्नो वेबसाईटमा गाउँपालिकाको क्षेत्रफल र जनसंख्या दुबै उल्लेख गरेको पाईएन । ०७८ को जनगणना अनुसार रुवीभ्यालीको जनसंख्या ५२६१ पुरुष र ५२११ महिला गरि १०४७२ जना रहेको छ । सिद्धलेक गाउँपालिकाले आफ्नो वेबसाईटमा क्षेत्रफल १०६.०९ वर्ग कि. मी. रहेको छ जनाए पनि ०७८ जनसंख्या उल्लेख गरेको पाईएन । ०७८ को जनगणना अनुसार सिद्धलेकको जनसंख्या १०६५२ पुरुष र ११५६० महिला गरि २२२१२ जना रहेको छ ।

थाक्रे गाउँपालिकाले क्षेत्रफल ९६।४१ वर्ग कि. मी. रहेको र जनगणना २०६८ अनुसार यस गाउँपालिकाको जनसंख्या ३२,९१४ रहेको आफ्नो वेबसाईटमा उल्लेख गरेको छ । ०७८ को जनगणना अनुसार थाक्रेको जनसंख्या ३१५५४ पुरुष र १५७५७ महिला गरि २२२१२ जना रहेको छ ।त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो क्षेत्रफल ८४.३६ वर्ग किलोमिटर र जनसंख्या २२,९६० रहेको वेबसाईटमा उल्लेख गरेको छ, तर ०७८ को जनगणना अनुसार त्रिपुरासुन्दरीकोको जनसंख्या १०१०५ पुरुष र ११०८३ महिला गरि २११८८ जना रहेको छ ।