जनसंख्या घटेपछि पालिका आफैंले जनगणना गर्न थाल्यो

Avatar photo
Dhadingpost
बुधबार, माघ १९, २०७८

रामेछाप । राष्ट्रिय जनगणना २०७८ अनुसार रामेछापको खाँडादेवी गाउँपालिकाको जनसंख्या १९ हजार ३ सय ८१ छ । यस पालिकाको मतदाता संख्या नै २२ हजार १ सय ६० छ । ०७८ को जनगणना अनुसारको जनसंख्या भन्दा मतदाता संख्या धेरै भएपछि खाँडादेवी गाउँपालिकाले आफै जनगणना गर्न थालेको हो ।

हाम्रो पालिकालको जनसंख्या राष्ट्रिय जनगणना २०७८ अनुसार १९ हजार ३ सय ८१ मात्रै हुनै नसक्ने दावी अध्यक्ष प्रेमबहादुर तामाङ गर्दछन् । पालिकामा मतदाताको संख्या २२ हजार १ सय ६० छ । मतदाता नामावलीमा नाम नभएका करिब ६ हजार बालबालिकाहरू विद्यालयमा अध्ययन गर्छन् । ‘यो हिसाबमा ९ हजार जनसंख्या छुटेको अनुमान मेरो छ ।

अब हामीले संकलन गरेको विवरण तथ्यपरक आउँछ,’ उनले भने, ‘स्टिकर बनाएर पठाएका छौं, हरेक घरमा स्टिकर टाँस गरेरै जनसंख्याको विवरण लिने काम भइरहेको छ ।’ राष्ट्रिय जनगणनाका क्रममा पालिकासँग समन्वय नभएको, कुनै बैठक या जानकारीसमेत नदिएर काम गरेकाले उक्त तथ्यांक भरपर्दो नभएको आरोप उनले लगाए ।