काठमाडौं । दशरथ रंगशालामा शनिबार (आज) साँझ पौने ५ बजे नेपाल र मौरिसस बीचको पहिलो मैत्रीपूर्ण खेल हुँदैछ ।
नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३४ सदस्यीय प्रारम्भिक टोलीबाट पहिलो खेलका लागि २३ खेलाडी छनोट गरिसकेका छन् ।
पहिलो खेलका लागि घोषित टोलीमा प्रशिक्षक अलमुताइरीले चोटका कारण संघर्ष गरिरहेका केही खेलाडीलाई विश्राम दिएका छन् । मुख्यतस् डिफेन्डर अनन्त तामाङ पहिलो खेलमा उपस्थित हुने छैनन् । उनको अनुपस्थितिमा देवेन्द्र तामाङ र दीनेश राजवंशीले नेपालको सेन्टर डिफेन्स सम्हाल्ने लगभग पक्का देखिन्छ । राइट ब्याक र लेफ्ट ब्याकमा नियमित रुपमा गौतम श्रेष्ठ र सुमन अर्यालले नै खेल्ने सम्भावना छ ।
गोलरक्षकमा कप्तान किरण चेम्जोङले सुरुवात गर्ने पक्काजस्तै छ । प्रशिक्षकले दीप कार्कीलाई खेलको अवस्था अनुसार दोस्रो हाफको कुनै समय डेब्यु दिन सक्छन् । एकै खेलमा दुई गोलरक्षक परिवर्तन हुने सम्भावना नरहेकाले टिकेन्द्र थापाले भने राष्ट्रिय टोलीको पहिलो अनुभव बेन्चमा रहेर लिने देखिन्छ ।
मिडफिल्डमा तेज तामाङसँग सुजल श्रेष्ठ र सुमन लामा खेल्न सक्छन् । त्यसो त प्रशिक्षक अलमुताइरीले मिडफिल्डर सुदीप गुरुङलाई सुरुवातदेखि नै मैदानमा प्रवेश गराएर डेब्यु दिन सक्छन् । प्रशिक्षणमा निकै प्राथमिकतामा रहेका सुदीपले सातदोबाटो युवा क्लबबाट लिगमा राम्रो प्रदर्शन गरेका थिए । साफ च्याम्पियनसिपमा रक्षात्मक मिडफिल्डको भूमिका निर्वाह गरेका पुजन उपरकोटी पहिलो खेलमा उपस्थित छैनन् । त्यसैले तेजले बक्स टु बक्स मिडफिल्डमा खेलेको अवस्थामा सुदीपले सुरुवात गर्ने सम्भावना पनि रहन्छ ।
मिडफिल्डमा अर्को विकल्पका रुपमा विशाल राई पनि छन् । उनले सुरुवात गरे सुमन लामा आक्रमणमा पनि खेल्न सक्छन् । यसबाहेक सातदोबाटोबाट नै आक्रामक मिडफिल्डमा जमेका आकाश बुढामगर पनि डेब्यु गर्ने प्रयासमा छन् । आक्रमणमा विमल घर्ति मगर र अन्जन विष्टले सुरुवात गर्ने बलियो सम्भावना छ । यसबाहेक लेफ्ट विंगमा भने जगजित श्रेष्ठले पनि पुनरागमनको दाबेदारी प्रस्तुत गर्नेछन् । अर्का युवा फरवार्ड कृतिश रत्न छुन्जुले भने डेब्यु गर्ने झिनो सम्भावना छ ।
नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले अफ्रिकी टोलीसँगको पहिलो खेललाई स्मरणीय बनाउने अपेक्षा गरेका छन् । ूअफ्रिकी टोलीसँग खेल्नु हाम्रो लागि नयाँ अनुभव हुनेछ। हाम्रा खेलाडीहरू मानसिक र शारीरिक रूपमा तयार छन्,ू लिम्बुले भने।
दशरथ रंगशालामा अपरान्ह ४ः४५ बजे खेल लाइटमुनि हुनेछ । खेलका लागि सामान्य र भीआईपी प्यारापिटको लागि क्रमशः ५ सय र १ हजार रुपैयाँ टिकट तोकिएको छ ।