
धादिङ । धादिङबेशी स्थित मदन आश्रित स्मृति भवनमा जारी एमालेको आठौँ जिल्ला अधिवेशनले सहमतिमा नै नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार भएको अधिवेशनको बन्दसत्रमा भुमि त्रिपाठी मात्रै अध्यक्षमा सर्वसहमति भएपनि अन्य पदमा आकाँक्षी धेरै देखिएपछि मतदान प्रक्रियामा गएर कार्य समिति चयन गर्ने तयारी गरिएको भएपनि अन्तत: एमाले धादिङले सहमति मै कार्यसमिति गठन गरि अधिवेशन सम्पन्न गरेको हो ।
यस आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भुमि त्रिपाठी, उपाध्यक्षमा धनबहादुर घले, सचिव अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) उप–सचिवमा हरिराम लोहनी र राधिका सापकोटा सहित १०५ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित भएका छन् । सहमतिमा हामीले कार्य समिति टुङ्ग्याएका छौं अर्जुन गोर्खालीले धादिङपोष्टलाई बताए ।
एमाले धादिङको जारी अधिवेशनमा जिल्लाभरबाट सात सय १ जना प्रतिनिधि सहभागी थिए । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर १०५ सदस्यीय जिल्ला कमिटि चयन बनाएको सचिव गोर्खालीले बताए ।यसैगरी जिल्ला कमिटिको बैठकले २० प्रतिशत सदस्य जसमा १० प्रतिशत बैठकले र १० प्रतिशत भने पार्टी एकिकरण तथा अन्य पार्टीबाट आएकालाई मनोनित गरिने बताईएको छ ।









