धादिङका ८ जना यु-१९ का खेलाडी नुवाकोटमा टप २८ परे, छनोट जारी

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २३, २०७८

धादिङ कात्तिक २३ । धादिङबाट १३ जना १९ वर्ष मुनिका क्रिकेट खेलाडीहरु सेलेक्सनका लागि आज नुवाकोट पुगेका थिए । जस मध्य ८ जना खेलाडी टप २८ भित्र पर्न सफल भएका छन् । नुवाकोट क्रिकेट संघले आज यो २८ जनाबाट १४ जना यु-१९ का खेलाडीहरु छनोट गर्ने कार्यक्रम रहेको छ ।

धादिङ क्रिकेट संघले क्यानको मान्यता पाई नसकेकोले खेलाडी छनोट हुन, अन्य जिल्ला धाउनु पर्ने वाध्यता अनुरुप धादिङबाट १३ जना खेलाडी हिजो नुवाकोट पुगेका हुन् । उनीहरुलाई धादिङ क्रिकेट संघका सचिव सन्दिप सापकोट र सदस्य जितेन्द्र श्रेष्ठले नेतृत्वगरि छनोटका लागि नुवाकोट लगेका थिए ।

छनोटका लागि नुवाकोट गएका १३ जना मध्य रुपेश भुजेल गल्छी, सृजन पाण्डे बेनीघाट रोराङ, अनिल थापा गल्छी, सन्देश सापकोटा गजुरी, अमृत थापा त्रिपुरासुन्दरी, रविन्द्र नेपाल गल्छी, कुशल श्रेष्ठ नीलकण्ठ र आरम्भ तिमिल्सिना सिद्धलेक गरी ८ जना टप २८ मा परेका हुन् । नुवाकोट क्रिकेट संघले आज यी २८ जना खेलाडीहरु मध्ये १४ जना खेलाडी छानेर नुवाकोट जिल्लाको टिम बनाउने धादिङ क्रिकेट संघका सचिव सन्दिप सापकोटाले धादिङपोष्टलाई जानकारी दिए । धादिङका अन्य दुई खेलाडी धुनीबेसीका कुशल रुपाखेती काठमाडौं जिल्लाबाट र सचिन श्रेष्ठ ललितपुर जिल्लाबाट यु १९ सेलेक्सनबाट छनोट भैसकेका छन् । यी दुबै खेलाडिले पछिल्लो धादिङ टी-२० क्रिकेटमा कारु मेरोरियल ट्रष्टबाट खेलेका थिए ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२२ मा वेस्ट ईण्डिजमा अण्डर १९ पुरूष विश्व कपको छनोट खेल गर्दैछ । त्यो भन्दा पहिला यू १९ एसिया कप डिसेम्बर अन्तिम देखि हुँदैछ । त्यसको लागि नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ राष्ट्रिय प्रातियोगिता गर्न लागेको त्यसैको लागि जिल्ला क्रिकेट संघहरुले आफ्नो जिल्लाका लागि खेलाडी छनोट गरि रहेका छन् । प्रतियोगितामा उच्च प्रदर्शन गर्ने खेलाडीहरु राष्ट्रिय टिममा पर्नेछन् । त्यसको लागि जिल्ला र प्रदेश छनोट हुनेछ, ७ प्रदेशका ७ टोली भिड्नेछन् ।