
धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि धादिङका युवा नेता कृष्ण रिजालले केन्द्रीय सदस्य (खुला तर्फ) पदमा उम्मेदवारी दिएका छन् ।
‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारासहित रिजालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेेका हुन् ।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका रिजाल लामो समयदेखि नेपाली कांग्रेस तथा पार्टीका विभिन्न भ्रातृ र संगठनात्मक संरचनामा सक्रिय छन् । उनले विद्यार्थी राजनीति हुँदै क्षेत्रीय नेतृत्व र तरुण दलको केन्द्रीय तहसम्म जिम्मेवारी सम्हालि सकेका छन् ।
रिजालको राजनीतिक यात्रामा वि.सं. २०५६ मा नेपाल विद्यार्थी संघ भुमेस्थान गाविस सभापतिको जिम्मेवारीबाट सुरुआत भएको देखिन्छ । त्यसपछि उहाँ धादिङ–काठमाडौं सम्पर्क समितिको सदस्य, नेपाल विद्यार्थी संघ धादिङको उपाध्यक्ष तथा वाल्मीकि क्याम्पसको स्ववियु सचिव र नेविसंघ इकाइ अध्यक्षको जिम्मेवारीमा थिए ।
वि.सं. २०६७ देखि २०७२ सम्म नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ धादिङको सचिव तथा २०७२ देखि २०७८ सम्म सोही क्षेत्रीय कार्यसमितिको सभापतिको जिम्मेवारी सम्हाल्नुभएको रिजाल वि.सं. २०८० मा नेपाल तरुण दलको केन्द्रीय सदस्य बनेेका थिए ।
त्यसैगरी उहाँ वि.सं. २०७८ देखि २०८३ सम्म महाधिवेशन/महासमिति सदस्य रहनुभएको र वि.सं. २०८२ मा धादिङ निर्वाचन क्षेत्र नं. १ बाट संघीय सांसदको प्रत्याशी थिए ।
पार्टीका विभिन्न तहमा काम गरेको अनुभवलाई आधार बनाउँदै रिजालले कांग्रेसको संगठनलाई थप सुदृढ, समावेशी र सशक्त बनाउन केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताए ।
