धादिङ भदौ ३१ । तात्कालिन जनयुद्धको समयमा माओवादीद्वारा हत्या गरिएका एमाले गजुरीका नेता रामबहादुर पण्डितको स्मृति दिवस मनाईएको छ । साविक किराञ्चोक गाउँ विकास समितिका तत्कालिन उपाध्यक्ष रामबहादुर पण्डितलाई माओवादी कार्यकर्ताहरुले अपहरण गरि घरबाट केहि पर लगेर बम विष्फोट गराई हत्या गरेका थिए ।
एमाले गजुरी ७ ले किराञ्चोकमा आयोजना गरेको उक्त स्मृति दिवस कार्यक्रममा एमाले धादिङका नेता तथा गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्र विक्रम बस्नेतले सहिदको नाम भजाएर पद र प्रतिष्ठा मात्र कमाउन तल्लिन भएकाहरूले सहिदको सपना साकार बनाउन कहिल्यै नसक्ने दावी गरे ।
नेता बस्नेतले सहिद रामबहादुर पण्डित स्मरण गर्दै भने माओवादीले आफ्नो निहित स्वार्थपुर्तीका लागि कयौं एमाले नेताहरु र सर्वसाधरणहरुको हत्या गर्यो । राजनैतिक विचारका लागि त्यो युद्ध थियो कि केहि नेताहरु नातागोता उच्चपदमा पुग्न थियो भन्ने कुरा उदाङ्गो हुँदैगएको बताए । माओवादी कार्यकर्ताले यसरी हत्या गरेका थिए, किराञ्चोकका रामबहादुर पण्डितको
२०६० साल भाद्र ३० गतेका दिन तत्कालिन माओवादीले कायरता पूर्ण ढंगले बम विष्फोट गराएर रामबहादुर पण्डितको हत्या गरेको थियो । सोहि दिनको सम्झनामा नेकपा (एमाले) ले स्मृति दिवस मनाउँदै आएको छ । आदमघाट पर्खाले थुम्की चौतारा सडकलाई गजुरी गाउँपालिकाले रामबहादुर पण्डित मार्ग नामाकरण गरि यस वर्षबाट सडक स्तरोन्नतीको काम समेत ठेक्का मार्फत अघि बढाएको छ ।