माओवादी कार्यकर्ताले यसरी हत्या गरेका थिए, किराञ्चोकका रामबहादुर पण्डितको

Avatar photo
नारायण सिलवाल
मङ्लबार, भदौ ३०, २०७७

धादिङ भाद्र ३० । तात्कालिन माओवादी कार्यकर्ताले धादिङ गजुरी गाउँपालिका साबिक किराञ्चोक गाविसका तात्कालिन एमाले नेता राम बहादुर पण्डितको दुबै हात बाँझेर ०६० साल आजैका दिन बम विस्फोट गराई हत्या गरेका थिए ।

तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको क्रममा किराञ्चोकका ९ जना एमाले कार्यकर्ताहरुलाई हत्या गर्ने तयारी भएको थाहा पाएका राम बहादुर पण्डित ०४९ साल र ५४ सालमा गाविस उपाध्यक्षमा निर्वाचित हुनु हुन्थ्यो ।

माओवादीको निसानामा परे सँगै विस्थापित बनेर काठमाडौ बस्दै आउनु भएको उहाँको किरान्चोक स्थित घरमा आमा र श्रीमती मात्र बस्दै आउनु भए पनि राजनीतिक गतिविधि भने काठमाडौ र धादिङबेसी बसेर संचालन गर्दै आउनु भएको थियो ।

घरमा श्रीमती साह्रै विरामी परेको र उपचारका लागि लैजान भनेर ०६० भाद्र ३० गते घर आउनु भएको उहाँलाई साँझ दुई जना माओवादी कार्यकर्ताले घरबाटै कब्जामा लिएर काम भन्दै लगेका थिए ।

घरबाट करिव २ किलो मिटर टाढा पालेको वन राती १०ः३० बजे तिर ठुलो आवाज आउने गरि बम विष्फोट भयो । राती उक्त स्थान जाने आँट स्थानीय कसैले गर्न सकेनन् । भोली पल्ट बिहान भाद्र ३१ गते स्थानीयहरु उक्त बम विस्फोट भएको स्थानमा पुगे ।

उक्त स्थानमा दुबै हात बाँधेर माओवादी कार्यकर्ताहरुले बम विष्फोट गराई राम बहादुर पण्डित हत्या गरेका रहेछन् ।

त्यो सँगै घटना स्थान जाँदै गरेको गजुरीको सेना समेत दरियाल खोलामा माओवादी कार्याकर्ताले राखेको एम्बुसमा परि दुई जना सुरक्षा कर्मीको मृत्यू भयो त्यो दिन उहाँको शव उठ्न सकेन र असोज १ गते मात्रै सव पोष्टमार्टम गर्न लगिएको थियो ।