धादिङ भाद्र १६ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भाद्र १० गते देखि जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता अन्तरगत आज भएको खेलमा धादिङका लगनशील युवा क्लव ज्वालामुखीलाई शुभारम्भ युवा समाज गल्छीले हराएको छ ।
एउटै समुहमा परेका धादिङका यी दुई टिम बीचको आज दिउँसो ३ः३० बजे भएको खेलमा गल्छीका आईत तामाङले खेलको ८ मिनेटमा गरेको १ गोल नै निर्णायक गोल बनेको थियो । ज्वालामुखीले भने कुनै गोल गर्न सकेन । यी दुई क्लवको खेलमा शुभारम्भ युवा क्लवका सुमन घले ‘म्यान अफ द म्याच’ घोषित भए । अब यी दुबै टिमले इमाडोल युवा क्लव सँग खेल्नु पर्ने छ । यी ३ टिम मध्य १ टिम समूहको विजेता बन्दै दोस्रो चरणमा प्रवेश गर्नेछ ।
७८ वटा क्लवहरुले भाग लिएको यस प्रतियोगितामा हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।