धादिङ मुलपानीकी पार्वती थापा मगर आफ्नै श्रीमानलाई हत्या गरेको अभियोगमा पक्राउ

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ११, २०७८

धादिङ बैशाख ११ । वैदेशिक रोजगारीबाट फर्किएका श्रीमानलाई विष खुवाएर हत्या गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका स्थित मुलपानी निवासी पार्वती थापालाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमान् ३२ वर्षीय विष्णु थापा मगरलाई खानामा विषाक्त पदार्थ सेवन गराई हत्या गरेको अभियोग लागे सँगै साँढे पाँच वर्ष देखि फरार २९ वर्षीया पार्वती थापा मगरलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटना विरवरण र पक्राउ
पार्वतीका श्रीमान् विष्णु २२ महिनाको वैदेशिक रोजगारीपछि २०७२ माघ २७ गते घर फर्किए। माघ २८ गते बिहान पार्वतीले छोराछोरीलाई अघिल्लो दिनको बासी खाना खुवाई विद्यालय पठाइन् । करिब ९ः३० बजे पार्वतीले विष्णुलाई गहत दाल, अण्डाकरीसँग खाना खुवाइन् । खाना खाएको केही समयपछि विष्णुलाई उकुसमुकुस भयो । अफ्ठ्यारो हुन थालेपछि मध्यपुर अस्पताल थिमि उपचारका लागि गए । त्यही दिन उनको अस्पतालमा ज्यान गयो । विष्णुको मृत्युपछि पार्वतीले प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले घटना अनुसन्धान क्रममा मृतकको भिसेरा, घटनास्थलमा बरामद गरिएको गहतको दाल, अण्डाकरी, खाना (भात) तथा मुछिएको खाना समेतको नमुना परीक्षणका लागि सम्बन्धित प्रयोगशाला पठायो । २०७४ साउन ९ गते प्रयोगशालाबाट आएको रिपोर्टमा अर्गान फोस्फोरस इन्सेक्टिसाइड्स नामको कीटनाषक विषादी फेला परेको मृतकका भाइ लोकबहादुरले बताए । उनले भाउजूको नाममा किटानी जाहेरी दिए ।

विष्णुको मृत्यु र मृत्युको कारण खुलेको प्रयोगशालाको रिपोर्ट आउँदासम्म पार्वती वैदेशिक रोजगारीमा गइसकेकी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताउनुभयो । तर वैदेशिक रोजगारीबाट फर्केकी पार्वतीलाई भक्तपुर जिल्ला अदालतको आदेशले पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो ।