विकास रौनियार,
धादिङ चैत्र १३ । ट्राफिक प्रहरीको मुख्य काम सवारी आवागमन सहज बनाउनु हो । तर धादिङको गजुरी स्थित पृथ्वीराजमार्गमा दिनहुँ खटिने ट्राफिक प्रहरीको काँधमा आजभोली थप जिम्मेवारी थपिएको छ । त्यो हो बालबालिका, वृद्धवृद्धा र विषेश शारिरिक क्षमता भएका व्यक्तिहरुलाईरोड क्रस गर्न मद्दत गर्नु ।
दृष्टिविहीन नारायण सिंग्देल र बालिकालाई पृथ्वीराजमार्गमा बाटो कटाउँदै गरेको अवस्थामा भेटिए ट्राफिक प्रहरी कार्यालय गजुरीमा कार्यरत हबल्दार सुधिर गिरी । पृथ्वीराजमार्गमा चल्ने सवारी साधनको चेकिङ र सवारी आवागमन सहज बनाउन खटिने गिरी हरेक दिन बिहान र बेलुकाको समयमा काम यसै गरी पैदल यात्रुलाई रोड क्रस गर्न मद्दत गर्न गर्दै आएका छन् ।
गिरीले जस्तै पैदल यात्रुलाई बाटो काटन सहयोग गर्दै गरेको अवस्थामा भेटिए इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी हवल्दार उमेश पण्डित । शान्ति सुरक्षा र अमनचयनका लागि खटिने पण्डित आज भोली यसै गरी हरेक दिन पैदल यात्रुलाई बाटो काट्न सहयोग गर्दै आएका छन् ।
विशेष गरी बालबालिका, वृद्धवृद्धा र विशेष शारिरिक क्षमता भएका व्यक्तिहरुलाई ट्राफिक प्रहरी र प्रहरी मिलेर बाटो काट्न मद्धत गर्दै आएका छन् । राजमार्गमा तीव्रगतिमा चल्ने सवारी साधनका कारण बटुवालाई बाटो काटन असहज हुने गरेको छ ।
अझ राजमार्ग छेउछाउका बजार क्षेत्रका विद्यार्थी, बालबालिका र वृद्धवृद्धालाई बाटो काटन थप असहज हुने गरेको छ । कतिपय अवस्थामा बाटो काटने क्रममा दुर्घटना हुने गरेको छ ।
गजुरी स्थित प्रहरी संगको सहकार्यमा ट्राफिक प्रहरीले गरेको यो कार्यले यहाँका स्थानीय बढी लाभान्वित भएका छन् ।
ट्राफिक प्रहरीले सुरु गरेको अभियानमा स्थानीयले पनि साथ दिने हो र ट्राफिक नियमको पालना गर्ने हो भने संभावित दुर्घटनाबाट बच्न सकिने स्थानीय शिक्षक रोशन न्यौपानेको भनाइ छ ।
पैदल यात्रुलाई बाटो काटन मद्दत गर्ने गजुरी स्थित ट्राफिक प्रहरीको काम तारिफ योग्य छ, गजुरीमा कार्यरत प्रहरीले जस्तै अन्य स्थानका प्रहरीले उदारहणीय काम गर्न सके प्रहरी मेरो साथी नाराले सार्थकता पाउन सक्थ्यो कि ।