गजुरी महोत्सव उद्घाटन गर्न चैत्र १२ गते माधव नेपाल आउने

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ९, २०७७

धादिङ चैत्र ९ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा चैत्र १२ गते देखि २४ गते सम्म हुने प्रथम गजुरी महोत्सवको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री तथा एमालेका नेता माधव कुमार नेपाल आउनु हुने भएको छ ।

समग्र धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना भन्ने नाराकासाथ हुन लागेको उक्त महोत्सव उद्घाटन गर्न नेपाल आउने आयोजकले आईतबार फाईनल गरेको हो ।

प्रमुख अतिथिको लागि निमन्त्रणा गर्न आईतबार गजुरी गाउँपालिकाको उप-प्रमुख सिता ढुङ्गानाको नेतृत्वमा महोत्सव संयोजक सुमीत श्रेष्ठ, प्रकाश अधिकारी मुक्तिकला लामिछाने, नबराज अर्याल, सीता श्रेष्ठ, रमा अधिकारी, रेशमलाल श्रेष्ठ, रुपक गिरि, गोबिन्द लामिछाने, दिनेश तामाङ लगायत टिम नेपाल निवास पुगेको थियो ।

१०० वटा बन्दा बढी व्यापारिक स्टल हुने उक्त महोत्सवमा हेलिकप्टबाट गोसाईकुण्ड दर्शन र धादिङका लोकल साईट सिन अवलोकनको लागि टिकट बुकिङ खुल्ला गरिएको महोत्सव आयोजक समितिका संयोजक सुमित श्रेष्ठले जानकारी दिनु भयो ।

श्रेष्ठका अनुसार महोत्सवमा २१ हजार प्रथम पुरस्कार राशी रहेको नृत्य प्रतियोगिता पनि गरिने छ । नृत्य प्रतियोगितामा द्धितियले १५ हजार, तृतियले ११ हजार र सान्तोनाले ५ हजार पाउने बताईएको छ ।

आयोजकका अनुसार स्टल बुकिङ, हेलिकप्टरको टिकट बुकिङको लागि विद्यार्थी शाह र प्रकाश भण्डारीलाई सम्पर्क गर्न सकिने छ भने, नृत्य प्रतियोगिताको लागि गजुरी स्थित X-Stand Dance School मा फारम भर्न सकिने बताईएको छ ।

महोत्सवमा घरेलु तथा मझौला उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, हेलिकप्टरबाट दृश्यालोकन, विभिन्न खेल तथा मनोरञ्ज, कृषि प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।