सरकारले सिद्धलेकलाई पर्यटकीय क्षेत्र घोषणा गर्दैछ –भुमि त्रिपाठी

Avatar photo
नारायण सिलवाल
शुक्रबार, फाल्गुन २८, २०७७

धादिङ फागुन २८ । हरेक वर्ष महाशिवरात्रीको दिन सिद्धलेकमा मेला लाग्ने गर्छ । यो पटक सिद्धलेकको विकास र पुर्वाधार विकासमा हातेमालो गर्दै आईरहेको ढेवाडाँडा समाजले प्रथम सिद्धलेक महोत्सवको आयोजना गर्यो ।

उक्त महोत्सवका प्रमुख अतिथि एवम् एमाले धादिङका नेता तथा संघीय सांसद भुमी त्रिपाठीले सिद्धलेकलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्न लागेको बताउनु भएको छ ।

धादिङका साविकाका ५० गाविस मध्य ४९ वटा गाविस देखिने सिद्धलेकबाट उत्तरी गोरखा, मकवानपुर, नुवाकोट, काठमाडौंको थानकोट समेत देख्न सकिने, यस सिद्धलेकलाई पर्यटकीय क्षेत्र घोषणा गर्न हाम्रो वर्षौ देखिको प्रयास पुरा हुने अन्तिम तयारीमा रहेको समेत सांसद त्रिपाठीले बताउनु भयो ।

आन्तरीक तथा वाह्य पर्यटकहरुको चहल-पहत त सिद्धलेकमा सुरु भैसकेको छ, यो राजधानीबाट नजिकको दुरीमा रहेको प्राकृतिक सुन्दरताले भरिएको ऐतिहासिक स्थल हो । आन्तरीक तथा वाह्य पर्यटनलाई लक्ष्यित गरी सिद्धलेका आसपासका वस्तीहरुलाई होमस्टेमा विकास गर्न सरकारले सहयोग गर्छ तर स्थानीयहरुको क्रियाशिलतालाई अझ मजबुत बनाउन उहाँले सुझाव दिनु भयो ।

सांसद त्रिपाठीले जनताको भरोसाको पार्टी नेकपा एमाले फेरि ब्यूतिएको बताउँदै जनताको भावना र समृद्ध नेपाल निमार्णका लागि एमालेका नेताहरु आत्म समिक्षा गर्दै एकताबद्ध हुने समेत बताउनु भयो । हिजो नेकपा छँदा कुन नेताले कस्तो व्यवहार गरे फरक परिवेशमा फरक आचरण भयो, अब एमाले पहिलेको जस्तै एमाले बनेर सबै नेताहरु एकताबद्ध भएर विकास र समृद्धिको लागि लाग्ने समेत दावी गर्नुभएको थियो ।

२०० भन्दा बढी स्वयम सेवक परिचालन गरि महोत्सवलाई व्यवस्थित गर्न आयोजकले अथक प्रयास गरेको देखिए पनि बजारमा देखिएको काला बजारी तर्फ भने आयोजकको ध्यान जान सकेको देखिएन । एक बोतल पानी कै ५० रुपैया, एक पोका चाउचाउको ४० रुपैया, एउटा जेरीको ४० रुपिया सम्म लिइएको पाईयो ।

यस विषमा आयोजक समितिका तिलक गुरुङले भन्नु भयो, यो महोत्सव हाम्रो पहिलो प्रयास हो । यातातिर ध्यान दिनै सकेनौं, आगामी वर्षबाट यसलाई थप व्यवस्थित बनाउने छौं । हेलिकप्टर चढ्न टिकट काटेका ६० जनाको टिकट फिर्ता गर्न परेको स्मरण गर्दै गुरुङ भन्नुृ हुन्छ, एक त, हेलि ढिला आयो, अर्को त हेली चढ्नेको संख्या स्टेज कार्यक्रम सकिय पछि ह्वात्तै बढ्यो र हेलिले भ्याएन टिकटको पैसा फिर्ता गर्नुपर्यो अर्को वर्ष यस तर्फ पनि ध्यान दिनेछौं ।

ढेवा डाँडा समाजका संयोजक विष्णुलाल श्रेष्ठको सभापतित्वमा भएको उक्त महोत्सव कार्यक्रममा नेपाली काँग्रेसका सभापति रमेश धमला, बेनीघाट गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटी, सिद्धलेक गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवाल, राजनीतिक दलका नेता तथा प्रतिनीधिहरु, पर्यटन व्यवसायीहरुको आतिथ्यता रहेको थियो ।