गणेश हिमालका छेउछाउ: पहिले र अहिले

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १३, २०७६


नवराज न्यौपाने ‘मौन’
मैले जागिरे जीवनमा छ वर्ष धादिङमा बिताएँ । त्यो समयमा धादिङका धेरै गाविसहरु घुमे पनि अधिक समय उत्तरी भेगका लापा, सेर्तुङ र तिप्लिङ गाविसहरुमा बिताएको छु ।

दुर्गम क्षेत्र बिकास समितिले दुर्गम गाविसका दुर्गाम गाउँवस्तीहरुमा भौतिक पूर्वाधारका संरचना निर्माण गर्नुका साथै शीपमूलक र आयमूलक कार्यक्रम सन्चालन गरेको थियो । त्यो बेला बाटोघाटो, पुलपुलेसा, खानेपानी, लघुजलविध्दुत, सोलार, स्कूल, गुम्बा बनाउने काम हुन्थ्यो ।

त्यो बेला धादिङ्बेसीबाट ३-४ दिनको पैदल हिंडेर जानुपर्थ्यो । बाटो निकै कठीन र घुमाउरा थिए । खच्चड हिंड्ने बाटो बनेकै थिएन । जनजीवन कष्टकर थियो । त्यसमाथि सशस्त्र द्वन्द उत्कर्षमा पुगेको थियो । तथापि हाम्रा योजना र कार्यक्रमहरुलाई कसैले अवरोध गरेन ।

विकास सूचङ्कांकमा सबभन्दा कम चरम गरीबीको सूचीमा परेका ती गाउँहरुमा दुर्गम क्षेत्र विकास समिति र कादूरी एग्रिकल्चरल एड एशोसिएशन (ब्रिटिश संस्था) का कार्यक्रमहरुले कायापलट गरिदियो ।

पाविल हिमालको फेदमा रहेको लिङ्जो (साविक तिप्लिङ्-९) र गणेश हिमालको फेदमा रहेका हिन्दूङ (साविक सेर्तुङ -९) र नेवेर (साविक लापा-९) गाउँहरुमा अहिले बिजुली तथा सोलार सुबिधा पुगिसकेको छ ।

धादिङमा विदेशी पर्यटक जाने ठाउँ सोम्दाङ हो जुन रसुवाको गत्लाङ र धादिङको तिप्लिङ गाविस जोडिएको ठाउँँ हो । समुद्री सतहबाट ३२७० मीटर उचाइमा रहेको सोम्दाङमा रसुवाको स्याफ्रुबेसीबाट गाडी चढेर खुर्पुलेक काटेर ३ घण्टामा पुग्न सकिन्छ ।

यहाँ अहिलले स्तरीय होटेलहरु खुलिसकेका छन् । गणेश हिमाल क्षेत्र पोखरा पछि दोश्रो धेरै पानी पर्ने ठाउँ हो भने गणेश हिमाल र लाङ्टाङ हिमाल क्षेत्र नेपालको होचो हिमरेखा भएको स्थल हो ।सामान्यत: हिमरेखा भन्नाले बाह्रै महिना हिउँ रहने ठाउँ ( ५०००मी) बुझिन्छ, तर यहाँ ४५०० मी मा हिमरेखा रहेको छ ।

सोम्दाङ्बाट दक्षिण-पश्चिमतर्फ २ घण्टा पैदलयात्राामा पाङ्साङ् पुग्न सकिन्छ जहाँबाट रुवीभ्यालीलाइ राम्ररी चियाउन सकिन्छ भने अतुलनीय हिमाली दृष्यहरु अवलोकन गर्न सकिन्छ । त्यस्तै पश्चिमतर्फ मार्सोङ र उत्तरतर्फ गोम्साङ, लारी आदि स्थानहरुमा हिमाली जीवजन्तुहरु अवलोकन गर्न सकिन्छ ।

गोम्साङ्भन्दा केही माथि नेपाल मेटल कम्पनी गणेश हिमाल सीसा जस्ता परियोजंनाको खानी रहेको छ, भने सोम्दाङमा कार्यालय रहेको छ । यही खानी उत्खनन गर्ने उद्देश्यले नेपाली सेनाले पञ्चायतकालमा नै १०५ किमी लामो त्रिशुली- सोम्दाङ सडक खनेको थियो । उक्त समयदेखि नै पर्यटकहरु पाल्दोर पिक लगायतका हिमाल चढ्न र हिम्-श्रिन्खलाहरुको अवलोकन गर्न आइरहेका छन् ।

धादिङको रुवीभ्याली क्षेत्रमा तामाङ जातिको बाहुल्यता रहेको छ । केही गाउँहरुमा गुरुङहरु र दलितहरुको बसोबास रहेको छ । चालिस, तीर, रिचेत, लाप्चेत र खादिङ गुरुङ गाउँहरु हुन् भन्ने चालिस, सेर्तुङ, तिप्लिङ र लापा गाउँहरुमा दलितहरुको बस्ती रहेको छ ।

सेर्तुङ घर भएका पत्रकार मानछिरिङ्ग तमाङले ‘आँखु क्षेत्रका तामाङ् जाति ‘ भन्ने पुस्तकमा धेरै कुरा खुलाएका छन् । बेलायतबाट आएर हालसालै उनले लेकका भेडागोठालोको कथा समेटेर ‘ अ डे अफ हिमालयन शेफर्ड ‘ नामक छोटो डकुमेन्ट्री फिल्म बनाएर लागेका छन् ।

धादिङका उत्तरी भेगका दुर्गम गाउँबस्तीहरुको बिकासमा कादूरी एग्रिकल्चरल एड एशोसिएसन भन्ने बेलायती संस्थाको ठुलो भूमिका रहेको छ । झोलुङ्गे पुल , खच्चड हिंड्ने बाटो , लघुजलविध्दुत, सोलर प्यानल आदि क्षेत्रमा सराहनीय काय गरेको कादूरीले लापाका त्याङ्चेत, चपाङ्चेत, तिन्चेत, छोम्रोङ आदि गाउँहरुमा छाना छाउने सिमेन्टको टायल बनाइ वितरण गरेको थियो ।

यी सबै काममा स्थानीय श्रम शीपको उपयोग गरिएको थियो । सम्पन्न योजनाहरुको निरीक्षण उद्घाटन गर्न कादूरी संस्थाकी अध्यक्ष हेलिकप्टरमा आएर पाविल हिमालअको फेदमा रहेको लिङ्जो गाउँमा अवतरण गरेकी थिइन् । संस्थाले लिङ्जोमा झोलुङ्गे पुल बनाएको थियो भने सोझै चालिस गाउँ निस्कने छोटो बाटो तथा पुलहरु बनाएको थियो । गाउँ लेहरुको स्वागत र आथित्य पाएर उनी निकै खुशी भएकी थिइन् ।

गणेश हिमाल पर्यटकीय क्षेत्र मात्र नभइ खानी भएको क्षेत्र पनि हो । गणेश हिमाल फेदिका पहराहरुमा पहिले रातो ढुङ्गा (लालमणि ) पाइन्थ्यो भनी हिन्दूङका बुढापाकाहरु बताउछन् । त्यस्तै लारी क्षेत्रमा नीलोढुङ्गा ( नीलमणि ) पाइने विश्वास गरिन्छ । सेतो ढुङ्गा (क्वार्ज ) भने धेरै ठाउमा भेटिएको लिङ्जोका बासिन्दाहरु बताउछन् ।

आँखु क्षेत्रमा कहाँको के प्रसिध्द छ, भन्ने अर्थमा यसो भन्ने गरिएको पाईन्छ – झ्गार्लाङ्गको पहिरो, लापाको कुकुर, सेर्तुङको केटा, तिप्लिङको केटी, झार्लङमा २०११ सालदेखि सुख्खा पहिरो जान थालेको र पहिरो बढ्दै गएर धेरैको घरबारी पहिरोले बगायो ।

गाउँलेहरुले कतैबाट सहयोग नपाएपछि राजालाई निवेदन दिए । राजा वीरेन्द्र आँफै हेलिकप्टरमा आएर पहिरो निरिक्षण गरे र विस्थापितहरुलाई कंचनपुरको पुनर्वास क्षेत्रमा लगेर राखियो ।

लापामा भोटे कुकुर राम्रो पाईन्छ । सेर्तुङका केटाहरु पढेका र देश विदेश पुगेका छन् । तिप्लिङका केटीहरु सुन्दरी हुन्छन् भनिन्छ ।

कर्मचारीहरुलाई स्थानीय तथा दुर्गम भत्ता उपलब्ध गराउने हिसाबमा आँखु उत्तरको क्षेत्रलाई दुर्गम मानिएको छ । यस् हिसाबले सल्यानटार, त्रिपुरेश्वर क्षेत्रका कर्मचारीले थप सुबिधा पाउछन भने आँखु वारी रहेका झार्लाङ, सेर्तुङ र तिप्लिङ क्षेत्रका कर्मचारीहरु दुर्गम ठाउँ भए पनि थप सुबिधाबाट बञ्चित रहेका छन् ।

त्यस्तै दैनिक भ्रमण् भत्तामा ५० प्रतिशत थप सुबिधा पाइने ठाउँ धादिङको सेतीबास उत्तरको क्षेत्र भनी आर्थिक प्रशासन नियमावलीमा उल्लेख भए तापनि धादिङमा हाल उक्त ठाउँ छैन । धेरै पहिले हाल गोरखा जिल्लामा रहेका मान्बु, केरौजा, काशिगाउँ सिर्दिबास, बिही, चुम्चेत र छेकम्पार गाविसहरु धादिङ जिल्लामा रहेका थिए ।

गुरुङ जातिको बाहुल्य रहेका उक्त गाविसहरु गाभिए र सिर्दिवास गोरखामा पर्न गयो । यस् बिषयमा यो पङ्क्तिकारले गोरखापत्रमा पठाएको पत्र पुरस्क्रित पनि भएको थियो ।

अहिले आएर दुर्गम गाउहरु पहुँचको हिसाबमा मात्र दुर्गम रहेका छन। विद्यालय लगायतका सरकारी कार्यालयहरुमा स्थानीय जनशक्तिको उपयोग हुन थालेको छ । खेतिपातीको काममा पर्मवर्म नै चलिरहेको छ। यो नै हिमाली भेगको विशेषता हुन पुगेको छ ।

चीन सरकारले धेरै पहिलेदेखि नै चीनसँग सिमाना जोडिएका गाउँपालिकाहरुलाई खाद्यान्न, जस्तापाता, कम्प्यूटर आदि वस्तुगत अनुदान सहयोग दिदै आए पनि धादिङकाका साविकका गाविसहरुले यो सुविधा पछी मात्र पाएका हुन् ।

चीनसँग थोरै मात्र सिमाना जोडिएको धादिङ जिल्लालाई चीनियाँ अधिकारीहरुले हेलिकप्टरमा आएर अवलोकन गरेका थिए र लापा, तिप्लिङ र सेर्तुङले सुबिधा पाउने भएका थिए । अहिले आएर चीन सरकारले चीनको सीमावर्ती गाउँपालिकाहरुमा १-१ वटा परियोजना सन्चालन गर्ने भएको छ । सो कार्यको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुदान दिने भएको छ ।

रुबीभ्याली गाउँपालिकाले पनि दीर्घकालिन महत्वको परियोजंना छनोट गरी पठाउने छ र झार्लाङ -तिप्लिङ सडक तथा सोम्दाङ-तिप्लिङ सडकलाई पनि विशेश प्राथमिकतामा राखी कार्यन्वयन गर्ने छ, भन्ने आशा गर्न सकिन्छ ।