नेपालले भु-उपग्रह बिहिबार अन्तरिक्षमा पठाउँदै

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ४, २०७६

धादिङ बैशाख ४ । नेपालले आफ्नो पहिलो स्याटेलाइट भू-उपग्रह भोली बिहिबार अन्तरिक्षमा पठाउँदै छ ।

नेपाली झन्डा र विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगो सहितको भू-उपग्रह स्याट-१ बिहीबार बिहान साढे २ बजे अन्तरिक्षमा पठाईने भएको नास्टले जनाएको हो ।

१ किलो ३ सय ग्राम तौल भएको स्याट-१ अन्तरिक्षमा पुगेपछि एक महिना इन्टरनेसनल स्पेस स्टेसनमा (आइएसएस) मा गएर बस्नेछ ।

यो भनेको अन्तरिक्षमा रहेको स्याटेलाइटहरूको ‘पार्किङ’ जस्तै हो । त्यहाँ अन्तरिक्षयात्रीहरूले यसलाई परीक्षण गर्नेछन् । प्राविधिक रूपले उपयुक्त छ भनेपछि बल्ल हाम्रो स्याटेलाइट पृथ्वी वरिपरि घुम्न थाल्ने नास्टले जनाएको छ ।

अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी अर्बिटल एटिकेको रकेटबाट उडाइने यस भू-उपग्रहले मे अन्त्यबाट पृथ्वीको चक्कर काट्न थाल्ने अनुमान छ ।

यो स्याटेलाइटलाई पृथ्वीको एक चक्कर काट्न ९० मिनेट लाग्नेछ । यस क्रममा नेपालको आकाशमाथि दैनिक ५ देखि १० मिनेट रहन्छ । यसले पृथ्वीबाट करिब ४ सय किलोमिटर टाढा फन्को मार्नेछ ।