पशुपति क्षेत्रलाई हरियाली बनाउन पाँच हजार विरुवा रोपिने

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७५

काठमाडौं, जेठ २७ । विश्व सम्पदा सूचीमा सूचीकृत धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरु भएको छ ।

अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने बताइएको छ । अभियानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले शुभारम्भ गरे ।

रोपिएका बिरुवा हुर्काउन पनि कोषले मानिस खटाउने भएको छ । एउटा बिरुवा हुर्काउन रु ११ हजार ११४ खर्च लाग्ने उहाँले बताए । पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनले जन्मदिन, वैवाहिक वर्षगाठलगायत शुभ अवसरमा वृक्षरोपण गरी हुर्काउन चाहेमा त्यो अवसर प्रदान गर्ने कोषले निर्णय गरेको छ ।

यसै हप्ता युरेशिया रेयुकाईले ३०० बिरुवा रोप्न स्वीकृति लिएको कोषले जनाएको छ ।

अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोतसल्लो, चिलाउने, लप्सी, पारिजातलगायत जातका २५० वृक्षरोपण गरिएको पशुपति विकास कोषका सदस्यसचिव डा प्रवीण ढकालले राससलाई जानकारी दिए ।