नेपालको जाजरकोट जिल्लामा नून खानी भेटियो

Avatar photo
Dhadingpost
जेष्ठ २५, २०७५

जाजरकोट, जेठ २५ । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानी भेटिएको छ । उक्त खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको छ ।

उक्त खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए । खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एण्ड टे«निङ सेन्टर काठमाडौंमा परीक्षण गरिएको थियो ।

बारेकोटमा नून खानी मात्र नभइ फलाम खानीसमेत रहेको सांसद सिंह बताउँछन् । नून र फलाम खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गरिएको र स्थानीय सरकारले त्यसका लागि आवश्यक सहयोग गर्नका लागि वचन दिएको सिंहले बताए ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले केही दिनमै नून खानीको स्थलगत अध्ययनका लागि टोली पठाउने बताए । बारेकोटमा नून निकाल्न सके देशलाई नूनमा आत्मनिर्भर बनाउन सकिने खनालको विश्वास छ । खोलामा धेरै ठूलो पानी नभएपनि निरन्तर बगिरहने पानीबाट धेरै नून उत्पादन गर्न सकिने खनालले बताए ।