
दार्चुला, जेठ २४ । सीमा पुल तरेर भारतबाट नेपालतर्फ फर्किंदै गरेका महाकाली नगरपालिका–१, छापरीका ५२ वर्षीय नन्दनराम लुहार बुधबार एसएसबीबाट कुटिएका छन् ।
नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले एसएसबीको कुटाइबाट लुहारको आँखामो चोट लागेको र उनको अहिले दार्चुला आँखा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
मदिरा सेवन गरेका लुहारले अभद्र शैली देखाएकाले कुटपिट गरेको प्रष्टोक्ति एसएसबीले दिए पनि यकिन नभएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाको भनाइ छ ।
घट्नापश्चात् भारतीय प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालयमा पुगेर सामान्य छलफल भएको र थप छलफल तथा छानबीन आज गरिने प्रहरी स्रोतले बताएको छ ।
प्रहरी सहायक निरीक्षक महेन्द्र थापाले मदिरा सेवन गरेका लुहारले अभद्र शैलीमा एसएसबीलाई पुलको गेट खोलिदिन भनेको र त्यसपपिछि एसएसबीले कुटपिट गरेको जानकारी आफूले पाएको बताए ।
