भैरहवा सेजमा अझै उद्योग आएनन्

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०७५

काठमाडौं, जेठ २३ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्ति दिने बताए पनि भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीहरू अझै आकषिर्त हुन सकेका छैन। ।

प्रसारण लाइन निर्माण गरिरहेको ठेकेदार कम्पनीले वन क्षेत्रको जग्गा प्रयोग र स्थानीयको अवरोधको समस्या समाधान भइसकेकाले दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । प्राधिकरणले लाइन पुर्‍याए पनि सेजभित्र स्थापना हुने सब – स्टेसन निर्माणका लागि सेज कार्यालयले अहिलेसम्म टेण्टर आहृवानसमेत गरेको छैन ।

प्राधिकरणले अहिले निर्माण गरिरहेको सब–स्टेसनको अनुभव हेर्दा टेण्डर गरी ठेकेदार नियुक्त गर्न कम्तीमा पनि ६ महिना लाग्छ । त्यसपछि सामान अडर गरी ठेकेदारलाई काम सक्ने छिटोमा १५ देखि १८ महिना लाग्छ । अर्थात् सामान्य अवस्थामा टेण्डरका सम्पूर्ण प्रक्रिया सकेर सब–स्टेसन निर्माण सम्पन्न गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने प्राधिकरणको अनुभव छ ।

स्थलगत निरीक्षणमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सेजका कर्मचारीले उद्योग स्थापनाका लागि इच्छुक रहेका १९ कम्पनी विद्युत अभावको कारण देखाउँदै अझै नआएको जानकारी दिएका थिए ।

‘अहिले भइरहेको पूर्वाधारबाट २÷३ मेगावाट विद्युत तत्काल दिने लिखित प्रतिबद्धता दिइसकेका छांै, यसबाट उद्योगीले पूर्वाधार निर्माणका काम गर्न सक्छन्,’ घिसिङले भने, ‘३३ केभी डबल सर्किट लाइन निर्माण अन्तिम चरणमा पुगेको छ, त्यसमार्फत दुई महिनाभित्र थप विद्युत् दिन सक्छौं ।’