नारायणगढ–मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रे

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०७५

काठमाडौं, जेठ २३ । नारायणगढ–मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रे भएको छ । आयोजनाका अनुसार उक्त सडकखण्ड पुरै कालोपत्रेसँग जोडिएको छ।

६ सेन्टिमिटर मोटो पहिलो तहको कालोपत्रे सम्पूर्ण खण्डमा सम्पन्न भइसकेकाले अब अवरोध नभएको अवस्थामा ३५ मिनेटमा नै उक्त सडकखण्ड सरररर पार गर्न सकिने सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए। ‘७० मिनेटलाई ५० प्रशेन्ट घटायर ३५ मिनेटमा ल्याउने र सडक सुरक्षामा उल्लेख्य सुधार गर्ने भन्ने नै हाम्रो प्रमुख उद्देश्य हो’, खनालले भने, ‘सोही अनुसार काम भएको छ ।

खनालले सडक कालोपत्रे बनेसँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको बताए। ‘सडक निर्माणका लागि दैनिक ६ घण्टा सडक बन्द हुँदै आएको थियो’, खनालले भने, अब बन्द हटेको छ भने सडक पनि खाल्डाखुल्डी, धुलो र हिलो रहित बनेको छ ।’

बाँकी रहेका ठाउँमा दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम म्याद थप भएमा सोही समयभित्र र यदि म्याद थप नभएमा जरिवाना तिराएर भएपनि सहजै सम्पन्न गर्न सकिने बताइएको छ ।

भत्काइएको तीन वर्षपछि सडकखण्डले पूर्णता पाएको खनालले बताए । निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो गरी आयोजना सम्पन्न  भएको   हो।