भारततर्फ लैजाँदै गरेको १२ टन मरिच बरामद

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०७५

वीरगञ्ज, जेठ २२ । प्रहरीले वीरगञ्जबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी १२ टन मरिच बरामद भएको छ ।

सोमबार साँझ ७ बजेको समयमा एक ट्रक मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए । ‘एक ट्रक मरिच बरामद गरेका छौं, अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर राखेका छौं,’ उनले भने, ‘मरिचका बारेमा थप अनुसन्धान गरिरहेका छौं ।’

मरिच बोकेको युपी ७८ बिटी ३८०४ नम्बरको भारतीय ट्रक वीरगञ्ज रक्सौल नाकामा रहेको शंकाराचार्य गेट कटिसकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मरिच आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

कलकत्ता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट आयात हुने मरिच नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ । मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा दोब्बर मूल्यमा बिक्री हुने गरेको छ ।

दुई दिनअघि पनि पर्साको विन्ध्यवासिनी गाउँपालिका ४ अमरपट्टीबाट तस्करी गरेर भारत लैजाँदै गरेको १८ सय किलो मरिच बरामद भएको थियो ।

चालक भारतको युपी कानपुर जिल्ला घर भएका ३२ वर्षीय धमेन्द्र कुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सीमावर्ती प्रहरी चौकी इनर्वाले बरामद गरेको मरिचको बजार मूल्य १ करोडभन्दा बढी हुने अनुमान प्रहरीको छ ।