
भारत, जेठ २१ । नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई नेपालमा शान्त वातावरण रहेकाले भारतका पर्यटकलाई नेपाल घुम्न आउने वातावरण बनाइदिन आग्रह गरेका छ ।
चितवनको सौराहबाट छोटो समयमा पवित्र तीर्थस्थल देवघाट त्रिवेणी जनकपुर र पशुपति नाथको दर्शन गर्न सकिने उहाँले बताउनुभयो । नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले नेपालमा आउने पर्यटकमध्ये भारतीय पर्यटक १६ प्रतिशत रहेको जानकारी दिँदै देशमा शान्ति बहाली भएसँगै यो संख्या बढाउन अभियान थालिएको बताउनुभयो । उहाँले नेपालका पर्यटकीय गन्तव्य पुग्न सकिने समय र दूरीलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
भारतको उत्तर प्रदेश राज्यको लखनउ शहरमा रहेका पर्यटक व्यवसायीबीच आइतबार साँझ भएको कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले नेपालमा द्वन्द्व समाप्त भएको र शान्ति बहाली भएकाले ढुक्क भएर भारतका पर्यटकलाई नेपाल घुम्न आउने वातावरण बनाइदिन आग्रह गर्नुभयो । उहाँले नेपालमा राजनीतिक द्वन्द्व सकिएर स्थायी सरकार निर्माण भइसकेको हुनाले अब बन्द हड्ताल द्वन्द्वलगायतका कारण पर्यटकले दुःख नपाउने बताउनुभयो ।
नेपालका पर्यटकीय गन्तव्यका विषयमा प्रचारप्रसार गर्ने उद्देश्यले नेपालका पर्यटन व्यवसायी भारतीय सीमा शहरमा आइपुगेका हुन् । चितवनलगायत चार जिल्लाका पर्यटन व्यवसायीले यसअघि पटना र बनारस क्षेत्रमा रहेका पर्यटन व्यवसायीसँग अन्तक्र्रिया गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव भइसक्नुभएका पर्यटन व्यवसायी युवराज लामाले अब नेपालमा द्वन्द्व अन्त्य भएको र देश समृद्धितर्फ अगाडि बढिरहेको बताउनुभयो । “द्वन्द्वका कारण डराउनु पर्ने समय सकिएको छ” लामाले भन्नुभयो “ढुक्क भएर नेपाल घुम्न आउनुहोस् अब बन्द हडतालका कारण दुःख पाउनु पर्दैन ।”
नेपालमा सशस्त्र द्वन्द्वका कारण पर्यटन व्यवसाय धराशायी अवस्थामा पुगेको थियो । त्यसपछिको भूकम्प र नाकाबन्दीका कारण यो व्यवसाय थप प्रभावित भएको थियो । कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीले नेपालमा ढुक्क भएर घुम्ने वातावरणको विश्वासिलो आधार खोजेका थिए ।
उनीहरुलाई नेपाली पर्यटन व्यवसायीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी दिँदै अब पूर्ण शान्ति बहाली भएर मुलक समृिद्धतर्फ अगाडि बढेको भन्दै भारतीय पर्यटन व्यवसायीलाई विश्वस्त दिलाएका थिए ।
सो अवसरमा ट्राभल एजेन्टस एशोसियशन अफ इण्डिया, उत्तर प्रदेश एण्ड उतराखण्ड च्याप्टरका अध्यक्ष सुनिल सत्यवक्ताले नेपालमा शान्ति बहालीसँगै पर्यटक पठाउन सकिने बताउनुभयो । २२ करोड जनता भएको उत्तर प्रदेशबाट मात्र अन्य देशमा एक महिनामा दुई लाखभन्दा बढी पर्यटक घुम्न जाने भन्दै उहाँले समन्वय गरेर अघि बढ्न सकेमा नेपाल नजिकको गन्तव्य हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी टुर अपरेटरले सीमामा पर्यटक सवारी र ढुवानी छुट्टै चेकजाँच गर्न, सडकमा पर्यटकीय गन्तव्यको दूरीको बोर्ड राख्न, नारायणगढ मुग्लिन सडक छिटो सक्न, निकुञ्ज प्रवेश र गतिविधिको मूल्यसूची बेवसाइटमा राख्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली पर्यटन व्यवसायीले नेपालको सीमा क्षेत्र नजिकै रहेको लखनउबाट करीब १० घण्टाको दूरीमा चितवन राष्ट्रिय निकुञ्ज पुग्ने भएकाले सबैभन्दा कम खर्चमा नेपालको पर्यटकीय गन्तव्य घुम्न सकिने बताएका थिए ।
पर्यटन विकास समिति चितवनका महासचिव विश्वराज सुवेदीले लखनउवाट हिँडेको दिन साँझ सौराहामा बसेर निकुञ्ज र आसपासको पर्यटकीय क्षेत्रको अवलोकन गरी फर्कन सकिने बताउनुभयो । उहाँले चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु एक सिंगे गैँडा, पाटेबाघ, घडियाल गोही, हात्ती, गौरीगाई, चरालगायतको अवलोकन गर्न सकिने जानकारी दिनुभयो ।
यहाँका ८० भन्दा बढी ट्राभल एजेन्टसले विभिन्न देशमा पर्यटक पठाउने गरेको भन्दै अब नेपालमा पर्यटक पठाउनेतर्फ बढी ध्यान दिने आश्वासन दिनुभयो । उत्तर प्रदेशबाट सबैभन्दा बढी पर्यटक थाइल्याण्ड, सिंगापुर, हङ्कङ, दुवई जाने गरेको उहाँले बताउनुभयो ।
