काठमाडौं, जेठ ११ । सबैभन्दा धेरै पर्यटन राज्यमन्त्री धनबहादुर बुढासँग १ सय ५० तोला र सबैभन्दा थोरै महिलामन्त्री थममाया थापासँग १ तोला सुन रहेको पाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटका सदस्यहरुसँग ४ सय ८३ तोला सुन रहेको पाइएको छ ।
सबैभन्दा थोरै सुन हुने मन्त्रीहरुमा महिला तथा बालबालिका मन्त्री थममाया थापा १ तोला, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र कृषि राज्यमन्त्री रामकुमारी चौधरीसँग २÷२ तोला सुन छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेभसाइटमा राखिएको मन्त्रीहरुको सम्पत्ति विवरणमा उल्लेख भएअनुसार २१ जना मन्त्रीहरुले आफूसँग भएको सम्पत्तिमा सुनको विवरण दिएका छन् । मन्त्री गिरीराजमणी पोखरेलले मात्र सुनको विवरण भरेका छैनन् ।
सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने कम्युनिस्ट विचारधारा बोक्ने मन्त्रीहरुमध्ये केहीको सम्पत्ति विवरणमा सुनको हिस्सा अस्वाभाविक देखिन्छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासँग सबैभन्दा धेरै १ सय ५० तोला सुन छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसँग ६० तोला सुन छ । अहिलेको मन्त्रीपरिषदका सबैभन्दा धनी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग सुन भने जम्मा ५१ तोला सुन छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मासँग ५० तोला सुन छ । प्रधामन्त्री केपी ओलीसँग १७÷१८ तोला सुन छ ।