कागले कराएको जस्तो गरेर सुशासन आउँदैन, कांग्रेस नेता गुरुङ

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १०, २०७५

प्युठान, जेठ १० । नेपाल प्रेस युनियनले बिहीबार प्युठानको बिजुवारमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता गुरुङले भने, ‘कागले कराएको जस्तो गरेर सुशासन आउँदैन भन्दै सुशासनको शुरुआत प्रधानमन्त्री केपी ओलीबाटै हुनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका नेता धनराज गुरुङले नेताहरुको अलिशान जीवन शैलीले मुलुक परिवर्तन हुन नसक्ने बताएका छन् । उनले कागले कराएको जस्तो, सुगाले रटान सुशासन नआउने भन्दै सुशासनको शुरुआत प्रधानमन्त्री केपी ओलीबाटै हुनुपर्नेमा जोड दिए ।

नेपाली राजनीतिमा नैतिकता हराएको बताउँदै उनले राज्यसत्ता परिवर्तन भए पनि नेताहरु परिवर्तन नभएको टिप्पणी गरे । नेताहरु स्वार्थी बन्दा जनताले सुशासनको पनि अनुभूति गर्न नपाएको उनको भनाइ थियो । ‘जनजिविकाका सवालमा हामी नेताहरु बदलिन सकेनौं । नेताहरु परिवर्तन हुनुपर्छ । नेताहरुको अलिशान जीवनशैलीले मुलुक परिवर्तन हुनै सक्दैन,’ उनले भने, ‘कहिलेसम्म नेपालीले परिवर्तनका लागि योगदान गर्ने अब परिवर्तनको महसुस हुनैपर्छ ।’

मुलुक संघीय संरचनामा गए पनि नेपाली कांग्रेस अझै पुरानै संरचनाअनुसार चलिरहेको भन्दै भन्दै उनले पार्टीको विधान संशोधनमा जोड दिए । सरकारले गर्ने राम्रो काममा सहयोग गर्दै कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनले बताए ।

उनले एमाले र माओवादीबीचको एकतालाई सत्ताको जोडघटाउ भनेर टिप्पणी गरे । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले देशलाई आर्थिक समृद्धिमा डोर्‍याउने भनिरहेका बेला कांग्रेस नेता गुरुङले भने, ‘पार्टी एकीकरणले मात्र मुलुक बन्दैन । यो केवल सत्ताको जोड घटाउ हो ।’