फेरि आन्दोलनको भुँमरीमा मनिपाल अस्पताल

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ९, २०७५

पोखरा, जेठ ९ । मनिपाल शिक्षण अस्पतालमा मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा अवरुद्ध भएको छ । संस्थालाई नै घाटा हुने गरी बढी मूल्यमा औषधि आपूर्ति गरेकाले ५ कर्मचारी लाई जागिरबाट निकालीएको छ ।

आन्दोलित कर्मचारी भने निराधार आरोप लगाएर हटाइएको दाबी गर्छन् । उनीहरूले परिवारका सदस्यहरूले बाहिर व्यवसाय गर्न नपाउने भन्ने कतै उल्लेख नभएकाले यो बदनियतपूर्ण प्रतिशोध साध्न झूटा आरोप लगाएर निष्कासन गरिएको बताए । ‘११ महिनाअघि हामीले विभिन्न ५ बुँदे माग राखेर आन्दोलन गर्दै आएका थियौं । वार्ता टोली संयोजक मलाई बनाइयो,’ बोहोराले भने, ‘त्यसको प्रतिशोध साध्न झूटा आरोप लगाएर मलागयत साथीहरूलाई जागिरबाट निकालिएको हो ।’ तलब वृद्धिलगायत माग राखेर कर्मचारीहरू गत असारदेखि आन्दोलनमा थिए ।

साबिकका एमाले र माओवादी केन्द्र तथा कांग्रेसनिकट कर्मचारी युनियनले पत्रकार सम्मेलनमार्फत अवकाश दिइएकाको पुनर्बहाली नभएसम्म आन्दोलन नरोकिने जनाएको छ । अस्पतालको फार्मेसीमा कार्यरत रमेश बोहोरा, टेकबहादुर विक, नीलकण्ठ भट्टराई, लेखा शाखामा कार्यरत मन्जु विक र अल्पना ठाकुरलाई फार्मेसीमा हिनामिना गरेको भन्दै जागिरबाट निकालेको थियो । उनीहरूले आफ्नै नाममा रहेको एनआरटी सर्जिकल्स कम्पनीमार्फत औषधि तथा सर्जिकलका सामान उपलब्ध गराउँदै आएको अस्पतालको भनाइ छ । अस्पतालका अनुसार ती सामग्री अन्यत्रभन्दा बढी मूल्य लिएको छानबिनका क्रममा पाइएपछि उनीहरूलाई निकालिएको हो । प्रशासन प्रमुख भानु भारद्वाजले आफूले काम गर्ने संस्थालाई नै घाटा हुने गरी बढी मूल्यमा औषधि आपूर्ति गरेकाले कारबाही गरेको बताए । ‘विभिन्न गुनासा आएपछि छानबिन समिति गठन गरियो,’ उनले भने, ‘दोषी देखिएपछि बाध्य भएर हटाउनुपरेको हो ।’