नेपालमा जापानी लगानी भित्र्याउ सेमिनार

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ६, २०७५

जापान, जेठ ६ । नेपालमा जापानी लगानी र जापानी पर्यटक भित्र्याउने उद्देश्यले जापानको औधोगिक नगरी नागोया शहरमा लगानी सेमिनार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालको बारेमा संक्षिप्तमा डा.सुदिप अधिकारी, नेपालमा जापानको रोटरी क्लबले गरेको सहयोगको बारेमा डा.कोशो योशिकावा, नेपालको पर्यटन क्षेत्रको बारेमा नागोया शहरका पूर्व उपमेयर सुजुकी कत्सुहिसा अनि नेपालमा लगानी र सम्भावनाका बारेमा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक तथा कार्यक्रमका परिकल्पनाकार पारस मणि पोखरेलले प्रस्तुति दिएका थिए ।

पटक पटक नेपाल भ्रमणमा गएका जापानी नागरिक र नेपालमा ब्यवसाय सुरु गरेका जापानीको छोटो अनुभवले कार्यक्रम अझ रोमान्चित बनेको थियो कार्यक्रममा मन थापाको सारंगी प्रस्तुतिका साथै समिर लामा र शान्ति लामाको नृत्यले सहभागी जापानीहरूलाई आकर्षित गरायो ।

कार्यक्रम नेपाली राजदूतवास टोक्यो, नेपाल पर्यटन बोर्ड र जापानी युवा उद्धमीको सहयोगमा सम्पन्न भएको थियो ।

गैह्र आवासीय नेपाली संघ एसिया प्यासीफिकको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा बिभिन्न तह र तप्काका नेपाली तथा ब्यबसायिक पृष्ठभूमिका जापानीहरुको उल्लेखनीय सहभागिता थियो। नेपाल र जापानको राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले अब नेपालमा राजनीति स्थायित्व भएको र लगानीको लागि सही समय भएको बताइन्।

प्रमुख अतिथि राणाले बुद्ध जन्मिएको देश नेपाल र जापानको सम्बन्ध पुरानो र घनिष्ट रहेको भन्दै नेपाली र जापानी नागरिक मिलेर यसलाई अझ मजबुत बनाउन पर्ने विचार व्यक्त गरिन्। कार्यक्रममा आइची प्रिफेक्चर ओबु शहरका मेयर ओकामुरा हिदेतोले अस्ट्रेलिया र फिलिपिन्समा ओबु शहरको भगिनी सहर रहेको बताउँदै नेपालमा पनि भगिनी शहर स्थापनाको लागि आफू सकारात्मक रहेको जानकारी दिए ।

कार्यक्रममा ओबु जापान चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिका अध्यक्ष किमुरा, रोटरी जापानका पूर्व गभर्नर युसुके कोन्दो, एनआरएनए का युवा संयोजक सुदन थापा, एसिया प्यासिफिकका संयोजक किरण बिक्रम थापा, आइसीसी सदस्य द्वय ओम गुरुङ र टंक गैरे लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष भवन भट्टको सहभागीता रहने भनिए पनि समयाभावका कारण उनी उपस्थित हुन नसकेपछि उनको भिडियो सन्देशलाई प्रस्तुत गरिएको थियो ।