विद्यालयमा झुन्डिएको अवस्थामा विद्यार्थीको शव फेला

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ६, २०७५

धनुषा, जेठ ६। जनकपुर उपमहानगरपालिका भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साहको मृत फेला परेको छ ।

यसैबीच मिथिला मन्टेश्वरी स्कूलमा विद्यार्थीको रहस्यमय मृत्यु भएपछि प्याब्सन धनुषा, एनप्याब्सन धनुषा र मधेश प्याब्सन धनुषाले आज एक दिने शोक बिदा घोषणा गरेको छ ।

जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा उनका साथीहरुले देखेपछि विद्यालय प्रशासनलाई जानकारी गराएका थिए ।

जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने रुपनारायण साहका छोरा धीरेन्द्र त्यस बोर्डिङ स्कूलमा होस्टेलमै बस्ने गरेका थिए । राति होस्टेलको ग्रिलमा गम्छा बाँधेर झुण्डिएको अवस्थामा उनका साथीहरुले देखेपछि विद्यालय प्रशासनलाई जानकारी गराएका थिए ।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले घटनास्थलबाट बरामद सामान प्रहरीले नियन्त्रण लिएर प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको बताए । प्रउ थपिलियाले घटना रहस्यमय भएको बताउँदै शव परीक्षणको प्रतिवेदनपछि मात्र हत्या वा आत्महत्याबारे भन्न सकिने बताए ।