सुन व्यवसायी मुखियाको हत्यामा संलग्न ६ जना जेल चलान

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ६, २०७५

काठमाडौं, जेठ ६। झापाका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न ६ जनालाई कारागार चलान गरिएको छ ।

यसअघि गत २० फागुनदेखि सुन चाँदी व्यवसायी संघ, झापाका सदस्य मुखिया बेपत्ता भएका थिए । र, एक सातापछि मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा मेची राजमार्गदेखि ५० फिट तल बोरामा प्याक गरिएको अवस्थामा फेला पारिएको थियो ।

जिल्ला अदालत, झापाले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै कारागार चलान गरिएको हो ।

यसअघि मुखियाको हत्यामा संलग्न भएको आरोपमा बिर्तामोड–५ घर भइ राधे रिद्धिसिद्धी ज्वेलर्स सञ्चालन गर्दै आएका पारसकुमार देव, बिर्तामोड–३ घर भइ उनकै पसलमा म्यानेजरको रुपमा काम गर्दै आएका प्रकाश भनिने चिरञ्जिवी ओली, बिर्तामोड–८ का दिपेश पौडेल, बिर्तामोड–३ का राजेश राज भनिने राहुल शाह, बिर्तामोड–५ का सुजन चौधरी र पिसिजी ज्वेलर्सका सञ्चालक प्रमोद बिश्वकर्मा पक्राउ परेका थिए ।

‘उनीहरुमध्ये विश्वकर्मालाई १८ लाख ५० हजार दुई सय ३० रुपैयाँ धरौटी माग भएको थियो’, इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले भने, ‘धरौटी राख्न नसकेपछि थुनामा पठाउने आदेश भएको हो ।’