उदयपुर जिल्लामा विद्यार्थीको चाप बढेपछि भर्ना बन्द

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ६, २०७५

उदयपुर, जेठ ६। पाँच वर्षअघिदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको त्रियुगा उच्चमाध्यमिक विद्यालयमा विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना कार्य बन्द गर्नु परेको छ ।

केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए ।

तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा उदाहरणका रुपमा रहेको सरकारी विद्यालय मध्येको एक उदयपुरको त्रियुगा उच्चमाध्यमिक विद्यालय बन्न पुगेको छ ।

त्रियुगा उच्च माविका प्राचार्य सुवास विष्टका अनुसार अहिले विद्यालयमा झण्डै दुई हजार विद्यार्थीले विभिन्न कक्षामा अध्ययन गर्दै आएका छन् ।

यस वर्षमात्र कक्षा ५ देखि माथिल्ला तहमा एक हजारसम्म नयाँ विद्यार्थी भर्ना भइसकेको र अब विद्यालयको क्षमताले धान्न नसक्ने हुनाले भर्ना बन्द गर्नु परेको विद्यालयका प्राचार्य विष्टको भनाइ छ ।

विद्यालयका शिक्षक सञ्जय दत्त भन्छन्, ‘वैशाख महिनाभित्र अंग्रेजी माध्यममा मात्र एक हजार विद्यार्थी भर्ना भए, अब विद्यालयका भवन र कोठाले विद्यार्थीको संख्या थाम्न नसक्ने भएपछि भर्ना बन्द गरेको हौँ ।’

जिल्लाको पहाडी क्षेत्रसहित सदरमुकाम गाईघाटमा सञ्चालन हुँदै आएका निजी विद्यालयबाट समेत धमाधम विद्यार्थी त्रियुगा उच्चमाविमा भर्ना गर्न लाने क्रम बढ्दै गएपछि विद्यालयले विद्यार्थीको चाप थेग्न नसकेर विद्यार्थी भर्ना बन्द गर्नु परेको विद्यालय प्रशासन बताउँछ ।

त्रियुगा उच्चमाविमा नयाँ विद्यार्थीका एक अभिभावक कमल परियार भन्छन्, ‘अब सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाइ हुन थाल्यो,सरकारले अब सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई मात्र पछि सरकारी जागिरमा समावेशी कोटामा प्राथमिकता दिन्छ रे भन्ने सुनेर पनि सरकारीमा नै विद्यार्थी फर्काएर ल्याएको छु ।’

त्रियुगा उच्चमाविका अंग्रेजी माध्यमका विद्यार्थीले जिल्लाकै पहिलो सरकारी विद्यालयका रुपमा यसपटक अंग्रेजी माध्यममा एसइई परीक्षामा समावेश भएर परीक्षा दिएको समेत विद्यालयका प्राचार्य विष्टले बताए ।

सरकारले अब सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारी जागिरपछि प्राविधिक शिक्षा अध्ययनमा विशेष प्राथमिकता दिने नीति र सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमिक विद्यालयबाट पठनपाठन शुरु भएपछि उदयपुरमा पनि सरकारी विद्यालयमा विद्यार्थीको भर्नाको चापसमेत ह्वात्तै बढेको हो ।

गत वर्षसम्म उदयपुरमा दशवटा मात्र सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको थियो ।

यसपटकको नयाँ शैक्षिकसत्रदेखि तीन दर्जन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख हरिहर धितालले बताए ।

विद्यालय प्रशासनका अनुसार यस वर्षको शैक्षिकसत्रमा वैशाख महिनाभित्र झण्डै एक हजार विद्यार्थीले अंग्रेजी माध्यममा विभिन्न कक्षामा भर्ना भइसके पनि अझै नयाँ विद्यार्थी भर्ना हुन आउने क्रम निरन्तर जारी हुने गरेका कारण अहिले भर्ना अभियान बन्द नै गर्नु परेको हो ।