धादिङ जेष्ठ ३ । नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकताको प्रतिक्षामा रहेका कार्यकर्ता एवम् शुभचिन्तकहरुले एकताको उपलक्ष्यमा धादिङका विभिन्न ठाउँहरुमा दिप प्रज्वलन गरेका छन् ।
धादिङबेसीमा माक्र्सवादी अध्ययन केन्द्रले र सिद्धलेक गाउँपालिकमा एमाले माओवादी केन्द्रका कार्यकर्ताहरुले पार्टी एकता भएको उपलक्ष्यमा दिपावली गरेका हुन् ।
एमाले–माओवादी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’मा रुपान्तरण भएका छन् । एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । त्यस्तै ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय समिति चयन भएको छ ।
पार्टी एकता घोषणाका लागि बुधबार बिहानैबाट दुवै दलले तीव्र गृहकार्य गरेका थिए ।
‘नेपाल कम्युनिष्ट पार्टी’ ले माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भएपछि पार्टी एकता घोषणा गरिएको हो ।