डिभी परिणाम सार्वजनिक, यसरी चेक गर्नुहोस्

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २, २०७५

काठमाडौं, जेठ २ । अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा आज राति सार्वजनिक भएको छ ।

इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी चिठ्ठा नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो। यो कार्यक्रम अन्तर्गत अमेरिकाले नेपालसहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी रुपमा अमेरिका भित्र्याउने गर्दछ । अमेरिका बसाइँ सराइ गर्न नेपालीहरु पनि डिभी कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सन् २०१७ को अक्टोबरदेखि नोभेम्बरसम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी चिठ्ठाको परिणाम सार्वजनिक भएको हो ।

कसरी चेक गर्ने डिभीको नतिजा

डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन । डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन । डिभी भर्नेहरुले सोझै https://www.dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै डिभी विजेताको जानकारी दिन दूतावासले कुनै किसिमको पनि इमेल नपठाउने स्पष्ट पारेको छ। अमेरिकी दूतावाससहित अमेरिकी सरकारसँग मिल्दाजुल्दा फेक इमेल आइडीबाट डिभी विजेतालाइ गलत सूचना दिने र पैसा असुल्ने कार्य बढेको देखिएपछि दूतावासले यस्तो सूचना जारी गर्दै सबैलाइ सजग गराएको हो ।