मुक्तिनाथ विकास बैंकका सिईओंमा पोखरेल नियुक्त

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २, २०७५

काठमाडौं, जेठ १। मुक्तिनाथ विकास बैंकको संचालक समितिको निर्णय बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)  मा पोखरेललाई नियुक्त तथा पदस्थापन गरेको छ ।

बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव संगाल्नु भएका पोखरेलले, संस्थापक प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् ।

यस्तै, बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धरलाई नियुक्त गरिएको छ । बुधबारदेखि पदबहाली गर्ने गरी मानन्धरलाई नियुक्ति दिइएको हो । मानन्धरले त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए गरेका छन् भने यसअघि प्रभु बैंक लि.मा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहिसकेका छन् । उनको विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।

विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रुपमा सहभागीता जनाउँदै आएको यस विकास बैंकले नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको ऐतिहासिक तथा पुरोनो वीर अस्पतालको सरसफाईको लागि रु १ लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम धुर्मुश सुन्तली फाउन्डेशन मार्फत फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुश) लाई बैंकका संचालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले प्रदान गरेका छन् ।

नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

बैंकको संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । पोखरेललाई गत चैत्रमा संचालक समितिको बैठकले चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवा सुरु गरी करिब १९ वर्ष उक्त बैकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका थिए । सो पश्चात उनले ६ वर्ष मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गते देखि यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए ।