सुनकोसी नदीमा अत्याधीक दोहन

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १, २०७५

सिन्धुली,जेठ १ । सिन्धुलीको सुनकोसी नदीमा पछिल्लो समय अत्याधीक दोहन हुन थालेको छ। विगत दुई बर्ष अगाडीसम्म सुन्दर देखिने सुनकोसी नदी हाल व्यवसायीहरूले जथाभावी उत्खनन् गर्दा नदीनै बैराग देखिन थालेको छ।

क्रसर उद्योग सञ्चालन गर्दै आएका व्यवसायीले उद्योगका लागि बालुवा, ढुंगा जथाभावी उत्खनन गरी नदी दोहन गर्न थालेका हुन्। यहाँको गोलञ्जोर गाउँपालिकाको खुर्कोट नजिकैको सुनकोसी नदी देखि सुनकोसी गाउँपालिकाको विभिन्न स्थानबाट जथाभावी उत्खनन भएको हो।

स्थानीय तहको निर्वाचन भइ जनप्रतिनिधि आएको एक वर्षमै सुनकोसी तहशनहश भएको स्थानीय बताउछन्। सुनकोसी गाउँपालिकाका स्थानीय मनोज दाहाल सुनकोसीमा अत्याधिक ठूला मेसिन गई उत्खनन भएको बताउछन्। अनगिन्ती मेसिन सुनकोसीमा पुर्याइएको छ, उनले भने–‘जताततै बैराग लाग्ने गरी उत्खनन् भएको देख्दा दुख लाग्छ। उनले यही रफ्तारमा उत्खनन भइरहेमा आगामी केही वर्षमै सुनकोसीको पानी समेत सुक्न सक्ने जनाए। नदीले धारनै परिवर्तन गर्न थालेको छ, उनले भने–‘गाँउपालिकाले व्यवसायीबाट कर र राजस्व थप्ने तिर लाग्नु भन्दा नदी दोहन हुन बाट जोगाउनु जरुरी देखिन्छ।’

विगत दुई बर्ष अगाडीसम्म सुन्दर देखिने सुनकोसी नदी हाल व्यवसायीहरूले जथाभावी उत्खनन् गर्दा नदीनै बैराग देखिन थालेको छ। नदीमा जथाभावी ठूला खाल्डा पार्ने तथा नदीको धारनै परिवर्तन हुने गरी जथाभावी उत्खनन् गर्दा नदीको सुन्दरता खुम्चदै गएको छ। सुनकोसी नदीमा सिन्धुली र रामेछापका व्यवसायीहरूले मनपरी ढंगबाट जथाभावी डोजर चलाई उत्खनन् गर्ने गरेका छन्।

विपी राजमार्गको छेउछाउ भएर बग्ने सुनकोसी नदीमा मापदण्डविपरीत क्रसरले दैनिक व्यापक मात्रामा उत्खनन् गरिरहेका छन्, त्यसलाई नियन्त्रण गरौ भनेर हामीले पटक पटक आवाज उठाएका छौ, तर गाउँपालिका तथा अन्य सम्बन्धित निकायले हालसम्म त्यसको नियन्त्रणमा ध्यान दिएका छैनन्। क्रसर व्यवसायीले नदीको धार नै परिवर्तन हुने गरी उत्खनन् गर्दा नदीको बीच–बीचमा समेत ठूल्ठूला खाल्डा देखिन्छन्। नदी क्षेत्रबाट ढुंगा, गिट्टी बालुवा, उत्खनन् गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रावधान रहेको भएपनि त्यसको कुनै पालना नभएको स्थानीय बताउछन्।

जथाभावी उत्खनन हुन थालेपछि केही स्थानीयले त्यसको विरोध गर्दै आएका छन्। तथापी सम्बन्धित निकायले त्यसलाई धान दिन नसकेको उनीहरूको गुनासो छ। सुनकोसीबाट ढुंगा,गिट्टी बालुवा निकाल्ने बाहनामा चरम दोहन हुन थालेपछि केही स्थानीयले विरोध गरेपनि त्यसको नियन्त्रण नभएको सुनकोसी गाउँपालिकास्थित दुम्जाका कपिल कोइरालाले बताए।