रुबीभ्यालीलाई संरक्षित क्षेत्र बनाऔं -गुरुङ

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १, २०७५

धादिङ जेष्ठ १ । गणेश हिमाल पर्यटन विकास समिति धादिङका अध्यक्ष तेजबहादुर गुरुङले रुविभ्याली क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न माग गरेका छन् ।

स्थानीय जनप्रतिनिधि तथा पर्यटन व्यवसायीहरुबीच सोमबार भएको अन्तरक्रियामा अध्यक्ष गुरुङले रुविभ्यालीमा दुर्लभ जंगली जनावर, पंक्षी तथा जडिबुटी र रुवि जस्तो बहुमुल्य पत्थरहरु पाइने हुनाले संरक्षित क्षेत्रको रुपमा विकास गर्न आग्रह गरेको बताएका थिए ।

‘धादिङ जिल्लाको पर्यटन योजना बारे आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद द्वय खेमप्रसाद लोहनी र भूमि त्रिपाठीले गणेश हिमाल पर्यटन विकास समितिले उठाएका विषय अत्यन्त सान्दर्भिक र धादिङ जिल्लाको विकासका लागि महत्वपूर्ण रहेकोले आफूहरुको ध्यानाकर्षण भएको बताए थिए ।

कार्यक्रममा गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक अध्यक्ष तथा एनएमएका महासचिव कुलबहादुर गुरुङले रुविभ्याली क्षेत्र पर्यटकीय पूर्वाधारको हिसाबले धरै अगाडि बढिसकेको भन्दै यसलाई लुक्ला र जोमसोमको वैकल्पिक रुटको रुपमा विकास गर्नु पर्नेमा जोड दिए । उनले, मौसमी खराबीकै कारण धेरै ट्रेकिङहरु स्थगित भइराखेको अवस्थामा काठमाडौंबाट सबैभन्दा नजिक रहेको यो रुटलाई सबै व्यवसायीहरुले प्राथमिकतामा राख्न नसक्नु प्रति चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले सदरमुकामबाट बन्दै गरेको सडकलाई व्यवस्थित र पर्यटन मैत्री बनाउँदै, रोडमै पर्यटक रमाउन सक्ने वातावरण बनाउन आह्वान तथा रुविभ्याली क्षेत्रमा धेरै खालका रुटहरु हुँदा पर्यटक र पर्यटन व्यवसायीसमेत अलमल भएको भन्दै एउटै रुटलाई ब्रान्डिङ गर्न, आगामी आर्थिक बजेटमा पर्यटनलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, पर्यटन विज्ञ ज्योति अधिकारी, टानका अध्यक्ष नवराज दाहाल तथा उपाध्यक्ष खुम सुवेदी र जीवन थापामगर, पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटा, गणेश सिंखडा, पम्फा धमला, एनएमएका कोषाध्यक्ष सुदर्शन न्यौपाने, भिटोफ नेपालका अध्यक्ष कमल सापकोटा, ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष रामशरण थपलिया, नाराका महासचिव शिव अधिकारी, टानका पूर्व कोषाध्यक्ष कुमार थापा, युवा पर्यटन व्यवसायी राजन सिंखडाले धादिङ जिल्लाको पर्यटन विकासका लागि प्रतिबद्ध जनाएका थिए ।