काठमाडौं, जेठ १। ३२ हजार फिटको उचाइमा उड्दाउड्दै ककपिटको झ्याल खसेपछि पश्चिमी चीनमा एक विमानले आकस्मिक अवतरण गर्नुपरेको छ ।
अनलाइनमा आएका तस्वीरहरुमा को–पाइलटको साइडको विन्डसिल्ड झ्याल झरेको देखिएको छ जसले कन्ट्रोल प्यानलमा समेत क्षति पुर्याएको छ । झ्याल खस्दा को पाइलटको अनुहारमा काटेको छ भने पिठ्युँमा पनि चोट लागेको बताइएको छ । त्यसैगरी एक क्याविन कर्मचारीलाई पनि सामान्य चोट लागेको बताइएको छ ।
सिचुवान एयरलाइन्सले घटनाको पुष्टि गर्दै आफ्नो औपचारिक वेबो एकाउन्टबाट ‘मेकानिकल गडबडी’को कारणले आकस्मिक अवतरण गर्नुपरेको बताएको छ । फ्लाइट नम्बर ३ यु ८६३३ चेङ्दु विमानस्थलमा विहान ७ बजेर ४२ मिनेट जाँदा आकस्मिक अवतरण गरिएको थियो ।
धेरै उचाइमा उडिरहेको विमानलाई आकस्मिक अवतरणको लागि एक्कासी तल झार्दा क्याविन कर्मचारीलाईलाई चोट लागेको चिनियाँ नागरिक उड्ययन प्रशासनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
जहाजको निर्माता कम्पनी एयरबसले सिचुवान एयरलाइन्सले कुनै सहयोग मागेमा सहयोग गर्न आफू तयार भएको बताएको छ ।
सोमबार बिहान यो घटना हुँदा सिचुवान एयरलाइन्सको एयरबस ए३१९ विमान चोङक्विङ्गबाट ल्हासाको लागि ११९ यात्रु र ९ जना चालकदलका सदस्यसहित उडेको थियो ।