चितवानमा असिनापानिले कृषिक्षेत्रमा ४२ करोडको क्षेति

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २८, २०७५

चितवन,बैशाख २८। चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले चितवनको कालिका नगरपालिकास्थित साबिक पदमपुर गाविसमा मात्रै रु २० करोडको केरा क्षति भएको जानकारी दिए ।

त्यसपछि रत्ननगर, जुटपानी, जमुनापुर, चैनपुर र ठिमुरामा केरा क्षति भएको छ ।

उनले ६२० केरा किसानमध्ये करीब ५०० जनाको क्षति भएको जानकारी दिँदै अहिलेसम्म बीमा गरेका १६५ किसानमध्ये १६० जनाले क्षतिपूर्तिका लागि निवेदन दिइसकेको जानकारी दिए ।

प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताए ।

अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्यांक आएको छ’, श्रेष्ठले भने, ‘काम जारी रहेको र निवेदन आउने क्रम रहेकाले क्षति अझै बढ्ने अनुमान छ ।’

स्थानीयवासी शंकर सुवेदीले करीब रु ६० लाखभन्दा बढीको केरा क्षति भएको दाबी गर्नुभयो । २३ वर्षको इतिहासमै सबैभन्दा बढी केरामा नोक्सान भएको मानिएको छ ।

उनले विवरण संकलनको काम जारी रहेको बताए । यही वैशाख २३ गते रातिको भीषण हावाहुरी र असिनापानीले चितवनको कृषि क्षेत्रमा यसरी नोक्सान गरेको हो ।