दाङ,बैशाख २८। राप्ति गाउँपालिका वाडा नं.२ बाराहाखुटीको आदर्श नमुना मावि लालमटियामा कक्षा ८ मा अध्यनरत १४ वर्षीया बालिकाले परीक्षामा फेल भएपछि आत्महत्या गरेकी छन्।
विद्यालयका प्राचार्य बाबुराम ज्ञवालीले पनि छात्राले आत्महत्या गरेको बताए।
यथार्थमा केसी उत्तिर्ण नै थिइन्। तर, विद्यालय प्रशासनले पछिल्लो तीन महिनाको मासिक शुल्क १ सय ७५ का दरले ५ सय २५ रूपैंया नबुझाएको भन्दै केसीको नतिजा रोकेको थियो ।
राप्ती गाउँपालिका वडा नं.२ लालमटिया निवासी केसीले वैशाख २ गते नतिजा सार्वजनिक भएकै दिन आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
प्राचार्य ज्ञवालीका अनुसार नतिजा सार्वजनिक भएको दिनमा सकुन्तला केसी विद्यालय आएकी थिइनन् । उनी घरमै थिइन्। उनका साथीहरूले प्रकाशित नतिजामा केसीको नाम नरहेको र मासिक शुल्क नतिरेको भन्ने जानकारी दिएपछि उनी निराश भएर आत्महत्या रोजेको हुन सक्ने उनले बताए ।
केसीले अन्तिम तीन महिनाको मासिक शुल्क ५ सय २५ विद्यालयमा बुझाएकी थिइन् । तर, लेखा शाखामा काम गर्ने शिक्षकले समयमै केसीले बुझाएको मासिक शुल्क चढाउन भुलेपछि उनको नतिजा विद्यालय प्रशासनले रोकिदिएको थियो ।
मासिक शुल्क बुझाए पनि परीक्षाफल रोकिएको हुँदा १४ वर्षीया छात्रा सकुन्तला केसीले परीक्षाफल प्रकाशित भएकै दिन आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।
‘दिउँसो परीक्षाफल प्रकाशित भयो र साँझ उनले घरमै पासो लगाएर आत्महत्या गरिछन्, तर त्यो नियतवस भएको होइन, काम गर्ने क्रममा भएको त्रुटि मात्रै हो,’ प्राचार्य ज्ञवालीले भने ।
‘सायद घरमा पनि अभिभावकले गाली गरे होलान्, हामीले पैंसा दिए पनि शुल्क नतिर्ने भने होलान् र त्यो सहन गर्न नसकी उनले आत्महत्या गरेको हुनुपर्छ,’ प्राचार्य ज्ञवालीले भने ।